
जनकपुरधाम- मधेस प्रदेशका मुख्य न्यायधिवक्ता वीरेन्द्र कुमार ठाकुरमाथि आफ्नो कार्यालयमा कार्यरत महिला कार्यालय सहयोगीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
मुख्य न्यायधिवक्ता ठाकुरले मुख्य न्यायधिवक्ताको कार्यालयमा स्थापनाकालदेखि नै कार्यरत मधेस आन्दोलनका सहिद रामविवेक राउतकी पत्नी अनिला कुमारी यादवले आफू माथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन्।
यादवले मुख्य न्यायधिवक्ता ठाकुरले आफूलाई पटक-पटक दुव्र्यवहार गर्दै मानसिक यातना दिएको बताएकी छिन् ।
उनले ‘मलाई मुख्य न्याधिवक्ता सरले फेस ठिक गरेर कार्यालयमा आऊ । फेसमा स्माइल ल्याऊ भन्नु हुन्छ । फेसमा स्माईल ल्याएनौ भने काम गर्न नआउनु भनेर भन्ने गरेको बताइन्।
कार्यालय सहयोगी यादवले आफूले यस बारे मुख्यमन्त्री समक्ष पनि जानकारी गराएको तर उहाँले त्यस्तो नगर्न भनि सम्झाउने भनेपछि चुप लागेको बताइन ।
कार्यालय सहयोगी यादवले भनिन्, “साउन १२ गते मुख्य न्यायधिवक्ता ठाकुरले कार्यालय समयपछि आफ्नो कार्यकक्षमा बोलाउनुभयो । अनि मलाई मैले भनेको नमाने कुनै पनि हालतमा करारको म्याद थप नगरी दिने भनेर धम्की दिनुभयो ।”
यसरी पटक पटक म माथि त्यस्तै व्यवहार भएपछि साउन १४ मा मुख्यमन्त्रीलाई लिखित रुपमै मुख्य न्यायधिवक्ता विरुद्ध निवेदन लिएर गएपछि पुनः मुख्यमन्त्रीले म सम्झाउँछु भन्दै निवेदन दर्ता नगरी आफूलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट फर्काएको जानकारी दिइन् ।
यस सन्दर्भमा मुख्य न्यायधिवक्ता वीरेन्द्र कुमार ठाकुरले आफूमाथि लगाएको आरोप बिल्कुल निराधार र झुटो रहेको बताए । ठाकुरको अनुसार एक पटक आफूले सर्वोच्च अदालतको महत्वपूणर् कागजात उनलाई राख्न दिएको तर, उनले उक्त कागजात हराइदिइन् । कागजात हराएकोले उनि माथि कराएपछि उनले म माथि यस्तो आरोप लगाएको हो ।
पूर्व मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश सरकारले मधेस आन्दोलनका सहिद परिवारका एक एक जना सदस्यलाई प्रदेश सरकार र सो अन्तर्गतका कार्यालयमा जागिर दिने निणर्य गरेको थियो । सोही निणर्यअनुरुप अनिलालाई कार्यालय सहयोगी पदमा त्यसबेला नियुक्ति दिइएको थियो ।
मधेस आन्दोलनको क्रममा रामविवेकको २०७२ साल भदौ २३ गते प्रहरीको गोली लागि मृत्यु भएको थियो । अनिलाको एउटा छोरो छ । राम विवेकको मृत्यु हुँदा पत्नी अनिलाको गर्भमा ७ महिनाको बच्चा थियो ।
यस घटनाको सन्दर्भमा मुख्यमन्त्री सरोजकुमार यादवले दुबै पक्षलाई छुट्टा छुट्टै बोलाएर कुरा गर्नुको साथै त्यस कार्यालयका अन्य कर्मचारीहरुसँग पनि सोधपुछ गर्ने बताए। उनले भने, “गल्ती जसको साबित हुन्छ, कारबाही गरिनेछ।”