
धनुषा- जन्मसिद्ध नागरिकका सन्तानलाई वंशको नागरिकता कानुनी रुपमा पाउन थालेपछि जिल्ला प्रशासन कार्यालय धनुषामा सेवाग्राहीको अत्यधिक चाप बढेको छ । सेवाग्राहीको अत्यधिक चाप भएपछि सेवाग्राहीलाई नागरिकता पाउन सास्ती झेल्नु परेको छ । १० बजे नै कार्यालयमा पुगेका पनि आफ्नो पालाको पर्खाइमै कतिपय सेवाग्राहीको दिन बित्छ । तर एक दिनमा नागरिकता पाउदैनन् ।
धनुषाको मिथिला नगरपालिका–५ का विजय महतोले नागरिकताको लागि चाहिने आवश्यक कागजात हुँदा हुँदै तीन दिन लगातार कार्यालयमा पुगेपछि मात्रै नागरिकता लिन सफल भएको बताए । नागरिकताको लागि बिहान १० वजे नै कार्यालयमा सयौँ जना लाइनमा बसेका हुन्छ, उनले भने,‘ सेवाग्राहीको चाप बढी भएपछि त्यसलाई व्यवस्थापन गर्न प्रशासनले लाइनमा लगाउछन्, आफ्नो पालोको पखाईमा सबैले लाईनमै बस्नुपर्छ । यस्तोमा अधिकृतको तोक लगाउन नै एक दिन लाग्छ । फेरि अर्को दिन काम सनाखतको लागि लाइनमा बस्नुपर्छ र बल्ल तेस्रो दिन नागरिकताको पाउछन् ।’यी समस्या महतोको मात्र नभइ प्राय सबै सेवाग्राहीको छ । ‘यहाँ सेवाग्राहीको चाप धेरै छ, तर त्यो अनुसार सरकारले यसलाई व्यवस्थापन गर्न सकेको छैन,’ महतोले भने ।
जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको अत्यधिक चाप भएपछि बिचौलियाहरुले पनि केही सेवाग्राहीसँग छिटो काम गराइ दिने भनेर ठगी गर्ने गरेको घटना पनि सार्वजनिक हुने गरेको छ । यस विषयमा धनुषाको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले पनि सेवाग्राही चाप अत्यधिक भएकोले सेवामा विलम्ब हुने गरेको स्वीकार गरे । मधेश प्रदेशका सबभन्दा बढी जनसंख्या धनुषा जिल्लामा छ । तर यहाँ एउटा मात्रै ईलाका प्रशासन कार्यालय यदूकोहामा रहेको छ । त्यसैले जिल्ला प्रशासन कार्यालयमै सेवाग्राहीको अत्यधिक चाप भइ सेवा प्रवाहमा ढिलाइ हुने गरेको उनको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय धनुषामा दैनिक दुई हजार भन्दा सेवाग्राहीको आउने गरेको दाबी गर्दै उनले भने,‘ नागरिकताको लागि मात्र होइन यहाँ राहादानी, राष्ट्रिय परिचय पत्र, मधेशी प्रमाणितदेखि विभिन्न प्रशासनिक कार्यको लागि सेवाग्राहीहरु यहाँ आउँछन, त्यसकारण सेवाग्राहीको चाप अत्यधिक भएपछि काममा ढिलाइ हुनु स्वाभाविक हो ।’ जिल्लामा कम्तीमा दुई वटा ईलाका प्रशासन कार्यालय तत्काल स्थापनाको लागि गृह मन्त्रालय, गृह सचिवसंग माग गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी दाहालले भने,‘ईलाका प्रशासन भएको खण्डमा जिल्ला प्रशासनको कार्यालयको भार अलि कम हुन्थ्यो,र सेवा प्रवाहमा पनि सहज हुन्थ्यो बताए । उनले धनुषाको धनुषाधाम र मिथिाला नगरपालिकाको ढल्केवरमा ईलाका प्रशासन स्थापनाको लागि गृह मन्त्रालयमा पत्राचारसमेत गरेको बताएका छन् ।
यसैबीच, ढल्केवर विकास संघर्ष समितिले पनि ढल्केवरमा ईलाका प्रशासन कार्यालय स्थापनाको माग गरेको छ । समितिका संयोजक फुलगेन महतोले धनुषाका प्रमुख जिल्ला अधिकारी दाहाललाई ज्ञापनपत्र बुझाउदै तत्काल ढल्केवारमा ईलाका प्रशासन कार्यालय स्थापनाको माग गरेका छन् ।