कुनै समय कोदो भन्नासाथ समाजको वर्गीय संरचनालाई झल्काउँथ्यो । गाउँघरमा कोदो खानेलाई गरिबको प्रतीकका रूपमा हेरिन्थ्यो भने भात खानेहरूलाई सम्पन्नताको सूचक मानिन्थ्यो । यही वर्गीय सोचले विस्तारै कोदोप्रतिको आकर्षण घट्दै गयो । परम्परागत रूपमा पोषिलो र स्वास्थ्यका लागि लाभदायक मानिने कोदो, आधुनिकताको दौडमा पछाडि पर्दै गयो । पछिल्ला वर्षहरूमा स्वास्थ्यप्रतिको चेतना बढेसँगै जब कोदोको महत्व फेरि उजागर भयो तब मधेसबाट नै लोप भयो । कुनै बेला मधेसमा मुख्य खेतीको रूपमा उत्पादन हुने कोदो(मडुवा) अहिले लगभग लोप भएको छ । यसलाई माडेर दाना निकाल्ने भएकाले यहाँ मडुवा पनि भनिन्छ । ‘हामीले आफ्नै परम्परागत सम्पदालाई किन बेवास्ता ग¥यौँ ? जबसम्म कोदो गरिबको खाना भनेर चिनिन्थ्यो, तबसम्म यसको उपेक्षा गरियो । अहिले हेल्थ फुडको रूपमा यसको पहिचान स्थापित हुँदै जाँदा भने यसको खोजी भइरहेको छ।’ स्थानिय धनबहादुर खत्रीले भने । ‘अब पुनर्जागरण गर्नुपर्ने देखिन्छ ।’

कोदोको महत्व हराउनुमा वर्गीय सोच मात्र होइन, सांस्कृतिक परिवर्तन पनि उत्तिकै जिम्मेवार छ । नयाँ पुस्ताले परम्परागत खानाभन्दा आधुनिकता झल्काउने परिकार रोज्न थालेको कारणले पनि कोदो लोप हुन थालेको स्थानीय बताउँछन् । अर्कोतर्फ, तीव्र सहरीकरणले कोदोको अस्तित्वलाई चुनौती दिएको स्थानीय बलबहादुर खत्रीको बुझाइ छ । ‘सहरीकरणकै प्रभावले खेतबारी मासिए, जग्गा प्लटिङ हुन थाल्यो र कृषिमा निर्भर जीवनशैली बिस्तारै हराउँदै गयो ।’ उनले भने । ‘जसले गर्दा कोदोजस्तो परम्परागत बाली उत्पादनमा प्रत्यक्ष असर परेको छ । यसले गर्दा बिस्तारै कोदो खेती गर्ने किसानहरू निरुत्साहित भएको नै देखिन्छ ।’ सरकारले समेत धान, मकै र गहुँलाई राष्ट्रिय बाली घोषणा गरेको छ । तर कोदो उपेक्षामा नै परेको देखिएको छ । कृषिविज्ञहरू सिँचाइ गर्न नपर्ने र कम पानीमा समेत अनुकूल हुने भएकाले मधेसमा कोदो उपयुक्त विकल्प भएको बताउँछन् ।




महोत्तरीका स्थानीय रामजनम महतो पनि कोदो लोप हुनुमा नयाँ पुस्ताको अरुचि नै भएको बताउँछन् । कोदोलाई हामी मरुवा भन्थ्यौँ । पहिले त धेरै उत्पादन हुन्थ्यो । तर छोराछोरीले खानै मन पराउँदैनथे, त्यसैले हामीले धानलाई प्राथमिकता दियौँ । उनी थप्छन्, ‘अहिले भने बजारमा कोदोको माग बढेको छ, तर उत्पादन नै छैन । जसले पनि खोज्छ, तर पाउन गाह्रो छ ।’ कृषि सूचना तथा प्रशिक्षण केन्द्रका अनुसार कोदोको उत्पत्ति अफ्रिकाको इथियोपिया र युगान्डामा कोदो जस्तै जंगली झारबाट खेती गर्दागर्दै कोदोको प्रजातिको विकास भएको मानिन्छ । कोदोको उत्पत्ति कहिले भएको एकिन नभए पनि भारतीय द्वीपमा ३ हजार वर्षभन्दा पहिले प्रवेश भएको मानिन्छ । नेपालको पहाडी क्षेत्रमा अहिले खेती भए पनि तराईमा भने यो लोप भइसकेको छ । धान उत्पादन हुने ठाउँको खोजीमा तराई झरेका पहाडी समुदायका मानिसहरूले भने अहिले पनि कतिपय ठाउँमा कोदो खेती गरिरहेको देखिएको छ । विशेषगरी चुरे क्षेत्रमा कोदोको उत्पादन भइरहेको प्रदेश कृषि कार्यालयले जनाएको छ ।

देशका ७७ वटै जिल्लामा उत्पादन हुने कोदो उत्पादनको तथ्यांक हेर्दा ३.२ प्रतिशत क्षेत्रफलमा पनि उत्पादन नभएको कृषि प्रशिक्षण केन्द्रको तथ्यांकमा उल्लेख छ । बरु कोदोको आयात भने बढ्दै गएको देखिएको छ । आव २०७९÷०८० मा मात्र ७३ करोड ३२ लाख रुपैयाँ बराबरको १८ हजार ४०३ मे.टन कोदो विदेशबाट आयात भएको तथ्यांक छ । कोदो स्वास्थ्यका दृष्टिकोणले समेत निक्कै लाभदायक छ । यो पौष्टिकताले भरिपूर्ण छ भन्ने विभिन्न अध्यनहरूले प्रमाणित भइसकेको छ । विज्ञहरूको अनुसार कोदोमा चामल र मकैमा भन्दा ३५ गुणा र गहुँमा भन्दा ८.७३ गुणा बढी क्याल्सियम पाइन्छ । यसमा चामलमा भन्दा २.३ गुणा, गहुँमा भन्दा १.५ गुणा र मकैमा भन्दा ३.७ गुणा बढी फलामको मात्रासमेत पाइन्छ । बालबालिका, गर्भवती महिला, मधुमेह र रक्तचापको बिरामीलाई यसको सेवनबाट फाइदा पुग्ने अनसुन्धानबाटसमेत पुष्टि भइसकेको चिकित्सक प्रविन मिश्र बताउँछन् ।
जलवायु परिवर्तनपछिको उपयुक्त बाली
मधेस अहिले पानी संकटको गम्भीर चपेटामा छ । वर्षौंदेखि कृषिमा आश्रित यो क्षेत्र पछिल्लो समय घट्दो वर्षा र सुक्दै गएको भूमिगत पानीका कारण चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । एक समय धान र तरकारी उत्पादनका लागि परिचित क्षेत्रहरूमा अहिले बिस्तारै हरियाली हराउँदै गएको दृश्य सामान्य बन्दै गएको छ । पर्याप्त वर्षा नहुँदा भूमिगत पानीको सतह दिनानुदिन घटिरहेको छ । ट्युबवेल र इनारहरू सुक्न थालेपछि सिँचाइमा निर्भर खेतीपाती प्रभावित भएका छन् । यसको सिधा असर किसानको जीवनशैलीमा परेको छ । कतिपयले खेती नै छाड्न थालेका छन् भने कतिपय विकल्पको खोजीमा अलमलमा छन् । धान फल्ने जमिनमा धान नहुँदा र तरकारी उत्पादन हुने क्षेत्रमा उत्पादन घट्दा खाद्य सुरक्षामै प्रश्न उठ्न थालेको छ । त्यसमाथि खानेपानीको अभावले समस्या झनै जटिल बनाएको छ । यस्तो अवस्थामा अब के गर्ने ? भन्ने प्रश्न मधेसका धेरै किसानका लागि साझा चिन्ता बनेको छ ।

विशेषगरी कम पानीमा उत्पादन हुने र सुक्खा वातावरणमा समेत टिक्न सक्ने बालीतर्फ ध्यान दिनुपर्ने सुझाव उनीहरूको छ । यही सन्दर्भमा कोदो फेरि चर्चामा आउन थालेको छ । एक समय गरिबको खाना भनेर हेपिएको कोदो अहिले जलवायु अनुकूल बालीका रूपमा पुनः स्थापित हुँदै छ । जलवायुविज्ञहरूका अनुसार कोदोले न्यून पानीमै राम्रो उत्पादन दिन सक्छ र सुक्खा क्षेत्रमा पनि सजिलै हुर्कन सक्छ । त्यसैले बदलिँदो जलवायु सन्दर्भमा मधेसका लागि यो उपयुक्त विकल्प बन्न सक्ने देखिन्छ । आधुनिकता र बदलिँदो खानपान संस्कृतिले विस्थापित गरेको कोदोप्रतिको चासो अहिले फेरि बढ्न थालेको छ । बजारमा यसको माग विस्तारै बढ्दै जाँदा किसानका लागि आयआर्जनको नयाँ सम्भावना पनि देखिएको छ । पोषणका हिसाबले समेत समृद्ध मानिने कोदो स्वास्थ्यप्रेमी पुस्तामाझ लोकप्रिय बन्दै गएको छ ।
किसानलाई आवश्यक तालिम र प्रोत्साहन उपलब्ध गराउन सकेमा कोदो वैकल्पिक बाली मात्र होइन, संकटको समाधानको आधार पनि बन्न सक्ने स्थानीय किसान रामचन्द्र खडकाको बुझाइ रहेको छ । कोदो जलवायु अनुकूलित बालीको रूपमा यसका विशेषताहरूले पनि प्रमाणित गरिसकेको छ । सुक्खा र अल्प वर्षा (वार्षिक ८००–१२०० मिलिमिटर) र उर्वराशक्ति कम भएको माटोमा पनि सहजै फल्न सक्ने बालीको रूपमा कोदोलाई लिइएको छ । समुद्र सतहबाट ३०० मिटरदेखि ३ हजार मिटरसम्मको उचाइमा कोदो खेती गर्न सकिन्छ । १२० दिनदेखि १८० दिनको अवधिमा पाक्ने बाली धानभन्दा छोटो अवधिमा तयार हुन्छ ।सन् २०२१ मा भएको संयुक्त राष्ट्रसंघको ७५औँ सभाले ‘खाद्य पोषण सुरक्षा वातावरण तथा ग्रामीण रूपान्तरणमा कोदोजन्य बाली’ भन्ने नारासहित सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष घोषणा गरेको थियो । सबैभन्दा धेरै कोदो उत्पादन गर्ने मुलुक भारत हो । यस हिसाबले नेपाल १३औँ स्थानमा पर्छ । वार्षिक १७ मिलियन टन कोदो उत्पादन गर्ने भारतले विश्वव्यापी रूपमा कुल क्षेत्रफलको ४० र उत्पादनको २० प्रतिशत कोदो उत्पादन गर्ने तथ्यांक छ ।




