
महोत्तरी - महोत्तरीको सोनामा गाउँपालिका अध्यक्ष विशेश्वरप्रसाद यादवको निर्देशनमा वडा कार्यालय बन्द गरिएको वडाध्यक्षले आरोप लगाएका छन् । वडा ८ का कर्मचारी कार्यालय नै बन्द गरी असोज ३ गतेदेखि गाउँपालिकामा हाजिर गरिरहेका छन् ।
यता वडा कार्यालयमा भने सेवा लिन आउने सेवाग्राही सेवा नपाएको भन्दै फर्किरहेका छन् । गाउँपालिकाका अध्यक्षले वडाका कर्मचारीलाई तालाबन्दी गरी पालिकामा आउनु भनेर निर्देशन गरेपछि वडाको काम प्रभावित भएको वडाध्यक्ष सुनिलकुमार सिंहको आरोप छ ।
संविधान दिवसको दिन पालिकाले वडा नम्बर ८ का जनतालाई लत्ताकपडा वितरण गरेको तर आफूसँग अध्यक्षले समन्वय नगरेको सिंहले बताए । उक्त विषयलाई लिएर पालिका अध्यक्षसँग आफ्नो वडामा काम गर्दा समन्वय गरेर गर्नुस् भन्दा भएको भनाभनपछि पालिका अध्यक्षले वडा कार्यालय नै बन्द गरिदिएको सिंहले बताए ।
असोज ३ गतेदेखि नै वडा सचिव धनिपत यादव, सहायक नरेश पासवान र सहयोगी नरेन्द्र सिंह कार्यालयमा हाजिर भएका छैनन् । गाउँपालिका अध्यक्षले वडा कार्यालय बन्द गरेर गाउँपालिकामा बस्नु भनेकाले आफूहरु कार्यालयमा उपस्थित नभएको सहायक नरेश पासवानले बताए । पासवानले भने, ‘गाउँपालिका अध्यक्षले भन्नुभएको छ, हाम्रो छलफलपछि के निर्णय हुन्छ अनि मात्रै वडामा जानू, त्यसकारण वडामा गएको छैन ।’
वडा सचिव महतोले भने वडाध्यक्षले कर्मचारीसित वडाको साँचो खोसेकाले आफूहरु पालिकामा निवेदन दिएर कार्यालय नगएको बताए । वडाको साँचो कर्मचारीसँग रहनुपर्ने र अन्यथा केही सामान हराएमा कर्मचारी जवाफदेही हुन नसक्ने भन्दै पालिकामा निवेदन दिएकाले अहिले पालिकामा आफूहरुले हाजिर गरिरहेको यादवले बताए ।
पालिकाका अध्यक्ष भने वडा कार्यालय संचालन गर्न अझै केही दिन लाग्ने बताउँछन् । आफ्नो र वडाध्यक्षको बीचमा कुनै भनाभन वा अन्य कारण वडा कार्यालय बन्द भएको नभई वडाध्यक्ष सिंहले नै वडा कार्यालय बन्द गरेको पालिका अध्यक्ष यादवले बताए । वडामा कपडा वितरण गर्दा वडाध्यक्षलाई पनि आमन्त्रण गरेको तर वडाध्यक्ष सिंह कार्यक्रममा नगएर वडा सचिवसँग विवाद गरेकाले वडाका कर्मचारी कार्यालयमा जान नमानेको उनले बताए ।
सेवाग्राहीको काम प्रभावित भएको भन्दै तत्काल समन्वय गर्न प्रशासकीय प्रमुखलाई आफूले आग्रह गरेको भए पनि काम विशेषले अहिले पालिकामा नरहेका कारण छलफल हुन नसकेको पालिका प्रमुख यादवले बताए । पालिकामा फर्किएपछि छलफल र समन्वय गरी आइतबारसम्म वडा कार्यालय संचालन गर्ने पालिका प्रमुख यादवको भनाइ छ । तर, जिल्ला समन्वय समितिले भने कुनै पनि बहानामा वडा कार्यालय बन्द गर्न नमिल्ने बताएको छ । यो वा त्यो बहानामा वडाबाट जनताले पाउने काममा अवरोध गर्न नपाइने जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुमनलाल कर्णले बताए । कार्यालयको व्यानर समेत लाग्न नसकेको वडा कार्यालय बन्द भएपछि स्थानीयले वडा कार्यालय परिसरमा बाख्रा छाड्ने र बालबालिकाले कार्यालयलाई आफ्नो खेल्ने ठाउँ बनाएका छन् ।