सिरहा-सिरहाको मिर्चैया स्थित एक होटेलमा विराटनगरका एक व्यपारीको शव भेटिएको छ। मृतक बिराटनगर-१० का २५ वर्षीय सिद्धान्त भट्टराई रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।
सिराहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित शम्भु होटेलको पछाडि बुधबार मृत भेटिएका भट्टराई विराटनगरस्थित पाथीभरा कापी उद्योगका सञ्चालक हुन्।
विराटनगरबाट मृतकका आफन्त मिर्चैया पुगेका छन्। प्रहरीले होटेलमा जडान गरिएको सिसी क्यामेराको फुटेज लगायतका प्रमाण जुटाएर अनुसन्धान अघि बढाइएको बताएको छ।
भट्टराई होटेलको पछाडिपट्टि जिन्स पाइन्ट लगाएको र कम्मरदेखि माथि पट्टिको भागमा लुगा नभएको अवस्थामा मृत भेटिएका हुन्। उनको घाँटीमा सिक्री र पाइन्टको गोजीमा मोबाइल फेला परेको छ।
भट्टराई मंगलबार बेलुका को।१ च ९१७२ नम्बरको पिकअप जिपमा कापीको मार्केटिङ गरी चालक सागर राईसँगै सहदेव होटेलमा खाजा र खान खाएका थिए । त्यसपछि राती पौने ११ बजेतिर चालक राई सुत्न गएको र भट्टराई भने दुई घर दक्षिण पर्ने शम्भु होटेलमा गएको प्रहरीको दाबी छ। होटेलका सञ्चालकले राति १ बजेतिर आफूसँग आएका व्यक्तिको मृत्यु भएको जानकारी दिएको चालक राईले बताएका छन्।




