
जनकपुरधाम - मधेस प्रदेशको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा विशिष्ट शल्यक्रिया सुरु भएको छ ।
यसअघि, उपकरण आए पनि सञ्चालन हुन सकेको थिएन ।
युरो जनरल र अर्थो विशिष्ट शल्यक्रिया कक्ष बुधवारदेखि सञ्चालनमा आएको अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले जानकारी दिनुभयो । उहाँले अब दूरबिनद्वारा पेटको शल्यक्रिया गर्ने कार्यको सुरुआत भएको बताउनुभयो ।
यसअघि, पेटको शल्यक्रिया पेट खोलेर गर्नुपर्ने बाध्यता रहेकोमा अब पेट नै नखोलेर सफलतापूर्वक शल्यक्रिया हुने भएको छ ।
बिना चिरफार नै शल्यक्रिया हुने भएपछि बिरामीलाई पनि निक्कै सजिलो हुनुका साथै पेट चिरेर शल्यक्रिया गर्दा निको हुन समय पनि अधिक लाग्ने अवस्थाको अन्त्य भएको निर्देशक पण्डितले जानकारी दिनुभयो ।
यसैगरि प्रादेशिक अस्पतालमा न्युरो सर्जनसहितका अन्य जनशक्ति नभएका कारण न्युरोको सर्जरी सञ्चालनमा ल्याउन नसकेको प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।
जनशक्तिको व्यवस्थापन गरेर दुई महिना भित्रमा सो सेवा पनि सञ्चालनमा ल्याउने गरी अस्पतालले काम अगाडी बढाएको निर्देशक डा.पण्डितले जानकारी दिनुभयो ।
मधेस सरकारले करिब १० करोड खर्च गरेर तीन वटा मोडुलर शल्यक्रिया कक्ष एक वर्षअघि स्थापना गरेको थियो । प्रदेशका तत्कालीन सामाजिक विकास मन्त्री नवलकिशोर साहले २०७९ भदौ ३० गते नवनिर्मित तीन वटा मोडुलर शल्यक्रिया कक्षको उद्घाटन गर्नुभएको थियो । उद्घाटनको एक वर्षपछि मात्र विशिष्ट शल्यक्रिया कक्ष सञ्चालनमा आएको छ ।
प्रादेशिक अस्पतालमा पहिलादेखि दुई वटा शल्यक्रिया कक्ष मात्र सञ्चालनमा छ । जनशक्ति अभावमा दुई वटा शल्यक्रिया कक्षबाट दिन तोकेर पालैपालो शल्यक्रियाको सेवा दिने गरिएको छ ।
मधेस प्रदेश सरकारको ठुलो र गौरवको प्रादेशिक अस्पताल पछिल्लो समय मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालनमा रहेको छ ।
हाल ३५० बेडको अस्पताल सञ्चालनमा भए पनि जनशक्ति एक सय बेडको मात्र रहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।
जनशक्ति पदपूर्ति नभएसम्म विशिष्टीकृत शल्यक्रिया बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने छ ।