जनकपुर — दिउँसो उखरमाउलो गर्मी हुने भएकाले मधेशका विद्यालयमा पढाइ बिहान हुन्छ । धनुषाको पूर्वोत्तर सबैला नगरपालिकाका सबै विद्यालय छुट्टी हुँदा पनि दिउँसो दुईवटा कक्षामा भने विद्यार्थी पढ्न मग्न छन् । सबैला–४ पर्टेवाको आधारभूत विद्यालयको एउटा कक्षाकोठामा शिक्षिका सेतोपाटीमा ‘भात–सिता, कमल–कलम’ लेखेर भुइँमा पलेटी कसेर बसिरहेका छात्रालाई नेपाली व्याकरण पढाउँदै छिन् ।
त्यही कक्षामा पढ्दैछिन् १८ वर्षीया उषाकुमारी सदा । घरभन्दा एक किलोमिटर परको रामप्रसाद माध्यमिक विद्यालयमा उनी साइकल चढेर पढ्न जान्थिन् । मुसहर समुदायकी उषालाई ‘क्लास मेट’सँगै गफिदै साइकलको पाइडल चलाउँदै विद्यालय पुग्न खुबै मज्जा लाग्थ्यो । उनी थोत्रो साइकल पेलेरै कक्षा ८ सम्म पढिन् । साइकल बिग्रेसँगै उनको पढाइ रोकियो ।



टायरट्युब टालटुल र मर्मतसम्भार गर्दा पनि नगुडेपछि उषा सदाको पढाइको पहिया पनि साइकलसँगै रोकियो । कक्षा ८ पढ्दै गरेकी उनी पढाइ छाडेर घरकै कामकाजमा रमाउन थालिन् । एक वर्षसम्म पढाइ छाडेर घरको काममा व्यस्त बनेकी उनलाई स्कुल जाँदै गरेका साथीसंगी हेर्दा पढ्न जान रहर नलागेको होइन । तर, साइकल सम्झिदै उनी रोकिन्थिन् ।
हुनेखानेका घरखेतमा काम गरेर परिवारको गुजारा चलाउने बाबु रामभगत सदासँग छोरीलाई पढाउन नयाँ साइकल किनिदिने हैसियत थिएन । उषाले पनि पढ्नै साइकल किन्न अभिभावकलाई करकाप पनि गरिनन् । उनको भाइ १६ वर्षका अरुण सदा पनि ६ कक्षामा पढ्दै गर्दा बीचमै छाडेर काम गर्न भारतको अहमदाबादमा पुगेका छन् । ‘हाम्रो समुदायमा पढ्नुपर्छ भनेर हौसला दिइदैन् । आफै जाँगर चलाएर पढ्यो भने मात्र हो,’ उषाले कान्तिपुरसँग भनिन्,‘मैले पनि बीचमै पढाइ छोड्दा किन यस्तो गरेकी ? भनेर सम्झाउनेसम्म कोही भएन ।’ साथीसंगी अझै पढ्न गइरहेको देख्दा उनलाई लाग्थ्यो, ‘कसैले उषा पढ्न जाने होइन ? आएर भनोस् । अनि कुदिहालौं स्कुल ।’
गत वैशाखमा शिक्षक–शिक्षिका र अगुवा उनको बस्तीमा आए । घरघरमा पुगेर बच्चालाई विद्यालय भर्ना गराउन अपील गरेपछि उषाको अझै पढ्ने रहर पुरा हुनेभयो । उषा जेठदेखि फेरि कक्षा ८ मा भर्ना भएकी छन् । बीचमा छुटेको पढाइ सक्न उषा अहिले पर्टेवाको आधारभूत विद्यालयको त्यो कक्षा कोठामा ‘द्रुत कक्षा’ गर्दैछिन् ।
द्रुत कक्षामा उषासँगै २५ जना विद्यार्थी पढ्छन् । जसमा अधिकांश मुसहर, मुखिया र मुस्लिम समुदायकी छात्रा हुन् । यी सबै बीचमै पढाइ छाडेकाहरु हुन् । मधेशमा दलित (मुसहर–मुखियालगायत) १८ प्रतिशत र मुस्लिम १२ प्रतिशतको ठूलो जनसंख्यामा भए पनि दुवै समुदाय शिक्षामा पछि परेको छ । उषा सदाको घर रहेको धनुषाको सबैला नगरपालिका–४ पर्टेवामा मुसहर र मुस्लिमको घना बस्ती छ । आधारभूत विद्यालयका शिक्षक सुनर मुखियाका अनुसार पर्टेवामा ६० घर त मुसहरकै छ । ती घरमध्ये १६ जना छात्रा, जो बीचमै पढाइ छाडेका थिए, अहिले त्यही विद्यालयको द्रुत कक्षामा सहभागी हुँदै पढाइलाई निरन्तरता दिएका छन् ।
पर्टेवाकी १३ वर्षीया प्रियंकाकुमारी सदाले कक्षा ६ मा पढ्दै गर्दा बीचमै छाडिन् । प्रियंकाले पढाइ छाड्नुका पछि ठूलै बाध्यता देखिदैन । पढिरहेकी अवस्थामा उनी सिरहामा रहेको मावली पुगिन् । हजुरआमा(नानी)सँग त्यही रमाउन थालिन् । मामा घरको लामो बसाईका कारण उनको पढाइ रोकियो । त्यसपछि उनी घर पर्टेवा फर्किनन् । करिब चार महिना पढाइ छुटेपछि प्रियंकालाई विद्यालय जान इच्छा जागेन् । ‘पढाइ धेरै छुट्यो । मेकअप गर्नै नसक्ने देखेपछि पढाइ रोकें,’ उनले भनिन्,‘घरमा पनि पढ्नैपर्छ भनेर कसैले कर गरेनन् । घरकै काममा रमाउन थालें ।’ प्रियंकाका घरमा बाबु जयराम सदासहित ६ जनाको परिवार छ । बाबु ट्रयाक्टर चालक हुन् । थोरबहुत भए पनि छोराछोरीलाई पढाएका छन् । प्रियंकाका अनुसार उनकी बहिनी प्रीति सदा बोर्डिङ स्कुलमा नर्सरीमा पढ्छिन् । भाइ अभिषेक कक्षा १ मा पढ्दैछन् । कान्छो भाइ अविनास ३ वर्षका छन् ।
‘पढ्नबाट बुवा–आमाले कहिल्यै रोक्नुभएन् । पढ्नैपर्छ भनेर कर पनि गर्नुभएन,’ प्रियंकाले भनिन, ‘मामाघरबाट फर्किएपछि पढाइ छुट्यो । सर–म्यामहरु घरमै आएपछि फेरि पढ्न थालेकी छु । पढेर के बन्ने ? त्यस्तो केही सोचेकी त छुँइन । तर, प्लस–टु नसिध्याई पढाइ अब रोकिन्न ।’ ६ कक्षा पढेर छाडेकी प्रियंका जेठदेखि सबैलाको रामप्रसाद माविमा कक्षा ८ मा भर्ना भएकी छन् । ‘अहिले पढाइमै फोकस गर्न मन छ । पछि के बन्छु, थाहा भएन,’ उनले भनिन् ।
प्रियंकासँगै द्रुत कक्षामा पढिरहेकी छन, १४ वर्षकी सुनीताकुमारी सदा । उनले पढाइ ५ कक्षाबाट बीचमै छाडेकी हुन् । उनले किन पढाइ छाडिन् ? कारण आफैंलाई थाहा छैन । ‘पढ्दै थिएँ, खै के भयो, स्कुल जानै छोडें,’ उनले भनिन्, ‘अबचाहिँ पढाइ रोक्दिनँ ।’ उनी जेठदेखि पर्टेवाको आधारभूत विद्यालयमा कक्षा ५ मा भर्ना भएकी छन् ।
१३ वर्षकी रूविना खातुनले भने घरमा काम गर्ने कोही नभएपछि ३ वर्षअघि ४ कक्षाबाट पढाइलाई बिट मारेकी हुन् । उनको पनि पढाइ छाड्नैपर्ने बाध्यता भने थिएन । उनले कक्षा छाडेर भान्सामा समय दिन थालिन् । उनका बाबु तहिवुल राइन वैदेशिक रोजगारीमा कतारमा छन् । आमा मोसिमा खातुन खेत–गोठमै व्यस्त रहन्छिन् । रूविनाका दुई दिदी सिरहाको मदरसामा पढ्दै थिए । बाबु विदेश, आमा खेत–गोठमा, दिदी सिरहामा हुँदा उनलाई घर सम्हाल्ने कि पढ्ने ? दोधार भयो । खेत–गोठमा आमा मोसिमालाई धेरै धपेडी थियो ।
‘अम्मीले पनि घरको काममा सघाउ भनेपछि पढाइ छोडें,’ रूविनाले भनिन्,‘तर, अस्ति (जेठमा) सरहरु घरमा आउँदा अम्मीले नै पढ्न जाउ भनेर पठाइन् ।’ उनको प्लस–टुसम्म पढ्ने इच्छा छ ।
१६ वर्षकी मनीषा मुखिया पर्टेवाकै आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्दै थिइन, बाबुको निधन भयो । आमा घरमा एक्लै परिन् । ६ दिदीबहिनी र १ जना दाजु । मनीषालाई घरका काममा सघाउने जिम्मेवारी आयो । दाजु र ४ जना दिदीको विवाह भइसकेकाले मनीषाकै काँधमा बहिनी मनतोरिया मुखिया र आमाको हेरचाह थपियो । त्यसैले उनले पढाइ छाडिन् र घरको काममा लागिन् । दाजु रामबहादुर मुखियाले भने कक्षा ४ सम्म पढेका छन् । विवाह गरेपछि रामबहादुर कामको सिलसिलामा भारतमा छन् । बहिनी मनतोरिया हाल कक्षा ३ मा पढ्दैछिन् । ‘बुवा खसेपछि आमा एक्लै हुनुभयो । मलाई नि पढाइमा मन लागेन । बुवाको सम्झना आइरहन्थ्यो । घर पुग्यो आमा रोएर बस्नुहुन्थ्यो । अनि पढाइ छाडें,’ मनीषाले भनिन्,‘दुःखको भारी बोकेर स्कुल जान मन लागेन् तर पढ्न मन थियो ।’ मनीषा जेठदेखि सबैलाको रामप्रसाद माविमा कक्षा ७ मा भर्ना भएकी छन् । ‘१० कक्षासम्म मात्र होइन, त्योभन्दा नि माथि पढ्न मन छ । पढ्छु पनि,’ उनले भनिन्, ‘पढाइ छाडेर धेरै पछुतो भयो । म्याड्म जाँदा म पनि पढ्छु भनेर नाम लेखाएँ ।’ मनीषालाई नेपाली विषय पढ्न सजिलो लाग्छ ।
आधारभूत विद्यालयको द्रुत कक्षाकी शिक्षिका कवियत्री अधिकारीले कक्षा छुटेको समयको पढाइलाई नै प्राथमिकतामा राखेर विद्यार्थीलाई अध्यापन गराइरहेको बताइन् । ‘उनीहरु नबुझेको सोध्ने गर्छिन् । सिक्न हच्किने गरेको देखिन्न,’ उनले भनिन्,‘वाक्य–अनुच्छेद, जोड–घटाउमा सुरुमा समस्या देखिन्थ्यो । अहिले मज्जाले पढ्न थालेका छन् ।’ आधारभूत विद्यालयका शिक्षक सुनर मुखियाका अनुसार मुसहर र मुस्लिम समुदायमा सन्तानलाई पढाउनुपर्छ चेतना बढेको छ । ‘पहिला जति जोडबल गरेनि विद्यालय पठाउनै मान्दैन्थे । अहिले हात समाएर ल्याउँदै बच्चाहरुलाई स्कुलमा छाडेर जान्छन् ।’
सबैला नगरपालिका–४ कोठियास्थित जनता राष्ट्रिय प्राविको द्रुत कक्षामा त १६ जना विद्यार्थी भने १५ जना सदा(मुसहर) समुदायकै छन् । कक्षा ७ मा पढ्ने बिवेखा यादव मात्र अन्य समुदायकी छन् । शिक्षक दीपुकुमार यादवले पढाइरहेको त्यो द्रुत कक्षामा भने वडासदस्य सुमीन्द्रादेवी सदा पनि बेन्चमा बसेर पढिरहेकी थिइन् । ‘सामान्य पढेकी थिएँ तर बिर्सिसकेछु । द्रुत कक्षामा बस्दा धेरै कुरा सिक्न पाइएको छ,’ उनले भनिन्, ‘यहाँ पढेको कुराले वडाको काममा सघाउ पुगेको छ ।’ कोठियामा मुसहर समुदायको मात्रै ४० घरपरिवार छ । वडासदस्य सुमीन्द्राका अनुसार त्यो सबै घरपरिवारका प्रायः सबै बच्चा विद्यालय पुगेका छन् । कोठिया द्रुत कक्षाका शिक्षक दीपु यादवले द्रुत कक्षाको सुरुवात क, ख, ग बाटै भएपछि अहिले विद्यालयमा दिएको होमवर्क र अतिरिक्त क्रियाकलापमा विद्यार्थी बढी ध्यान दिइरहेको बताए । ‘सुरुमा अलि गाह्रो थियो । घरघरमा विद्यार्थी खोज्न जानुपर्थ्यो । अहिले कक्षामा आफैं आउन थालेका छन,’ उनले भने ।
धनुषामा बीचमै पढाइ छाडेका विद्यार्थीलाई विद्यालयसँग जोड्न प्लान इन्टरनेशनलको सहयोगमा आसमान नेपालले द्रुत कक्षा सञ्चालन गरिरहेको छ । आसमान नेपालका शिक्षा प्रमुख घुरन यादवका अनुसार धनुषाको ५ वटा स्थानीय तह कमला, सहिदनगर, सबैला, बिदेह नगरपालिका र जनकनन्दिनी गाउँपालिकामा १० देखि १८ उमेरका विद्यालय बाहिर रहेका र विद्यालय छाडेका बालबालिकालाई पुनः विद्यालयमा भर्ना गराइएको छ ।
‘विद्यालय छाडेको समयको पढाइलाई निरन्तरता दिन ५ वटै पालिकामा १५ वटा द्रुत कक्षा सञ्चालन भइरहेको छ,’ शिक्षा प्रमुख यादवले भने । द्रुत सिकाइ कक्षामा ३ सय ३८ जना बालबालिका पढ्दैछन् । जसमा छात्रा २ सय ७५ र छात्र ६३ जना छन् । शिक्षाको पहुँचबाट बाहिर रहेका दलित समुदायका २ सय २६ जना र मुस्लिम समुदायमा ३१ जना विद्यार्थी भने द्रुत कक्षामा अध्ययन गरिरहेको यादवले जानकारी दिए । उनका अनुसार द्रुत सिकाइ कक्षामा रहेका ३ सय ३८ जना बालबालिकामध्ये २ सय ३४ जना विद्यालयमा भर्ना भई कक्षामा नियमित छन् ।-कान्तिपुर




