महोत्तरी- पिपरा गाउँपालिका–३ पिपरा टोलमा बोक्सीको आरोपमा भएको कुटपिट तथा झुक्याएर सम्बन्ध विच्छेदको तमसुक गराएको घटनाको स्थलगत प्रारम्भिक प्रतिवेदन साउन ३० गते सार्वजनिक गरिएको छ ।
पिपरा गाउँपालिका–३ पिपरा टोलकी ३२ वर्षीया काजल दासलाई ३५ वर्षीय पति बिनोद दास र ३४ वर्षीया सौता शिलादेवी दासले बोक्सीको आरोपमा कुटपिट गरेको, झुक्याएर सम्बन्ध विच्छेद र गाउँ छाडी जाने तमसुकमा सही छाप गराएको प्रतिवेदनमा उल्लेख छ ।



पीडित काजल दासलाई पति बिनोद, सौता शिलादेवी र सासू सुमित्रादेवीले धनुषा जिल्ला मुखियापट्टी मुसहनीया गाउँपालिका–४ स्थित फेछा गाउँमा हनुमान मन्दिरमा बस्ने धामीझाँक्री दिनेश यादवकोमा २०८० असार महिनाको पहिलो हप्ता लगि भूत हटाउन भन्दै १० दिन राखेको प्रतिवेदनमा उल्लेख छ । सोही क्रममा काजल दासलाई राति–राति मसानघाटमा लगि दुई दिन परेवाको बलि र एक दिन कुभिन्डोको बलि दिन लगाई धामीझाँक्री यादवले बोक्सी ठीक गरेको भनि घर पठाएको र घरमा लगि कुटपिट र यातना दिएको प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनमा भनिएको छ— “२०८० असार ३१ गते दिउँसो १ बजे पति र सौताले ‘यो बोक्सीले गर्दा मेरो छोरी बिरामी भई, यसलाई नमारी छोड्दिन’ भन्दै कुटपिट गरिएको र २०८० साउन १ गते बिहान पनि सुतिरहेको बेला पतिले सौताको सहयोगमा ‘बोक्सी लगाउने, तन्त्रमन्त्र गर्ने तथा टुनामुना लगाउने’ भन्दै पिठ्युँ, बायाँ पाखुरा, मुख तथा संवेदनशील अङ्गमा कुटपिट गरेका थिए । सौता शिला देवीले कपाल समाती गोठमा रहेको डोरीले घाँटीमा बाँध्न खोज्दा पीडितले रोइकराइ हारगुहार गरेपछि छिमेकीहरूले हस्तक्षेप गरेका रहेछन् ।”
पीडितले इन्सेक मधेस प्रदेशमा न्यायका लागि पहल गरिदिनु हुन अनुरोध गरेपछि इन्सेक र ओरेक लगायत संस्थाका प्रतिनिधिहरूको पहलमा साउन १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रतिवेदनमा उल्लेख छ ।
घटनामा संलग्न भनिएका पीडितका पति र सौतालाई प्रहरीले गिरफ्तार गरी कानूनको दायरामा ल्याइएता पनि अर्का आरोपित दिनेश यादव (धामीझाँक्री) विरुद्ध पीडित पक्षले किटानी उजुरी दिए पनि हालसम्म फरार रहेको भनिएकोले तत्काल गिरफ्तार गरी कानूनको दायरमा ल्याउन प्रतिवेदनमार्फत माग गरिएको छ ।
प्रतिवेदनमा भनिएको छ— “मधेस प्रदेशमा धामीझाँक्रीका कारण महिलाहरू बोक्सीका घटनामा प्रताडित भइरहेको घटना दिन प्रतिदिन बाहिर आइरहेकोले त्यस्ता धामीझाँक्रीहरूको पहिचान गरी कानूनको दायरामा ल्याएर बोक्सीको आरोपमा महिलामाथि हुने हिंसा न्यूनिकरण गर्न प्रहरी प्रशासनले तदारुकता देखाउन आवश्यक छ ।” घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढाई दोषीलाई दण्डित गर्न र पीडितको शान्ति सुरक्षा, उपचार र उचित स्याहार सुसार आवश्यक देखिएकोले सोको लागि सम्बन्धित निकाय तथा नेपाल सरकारको ध्यान जान आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।
टोलीमा इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, कार्यक्रम फोकल पर्सन बरुण बस्याल, ओरेक महोत्तरी संयोजक विना सिंह, थर्ड एलायन्सका प्रदेश संयोजक अर्जुन साह, सञ्चारकर्मी रञ्जन भण्डारी र मानव पुनर्स्थापना केन्द्रकी अध्यक्ष लिला दियालीको सहभागिता रहेको थियो ।
यस्तो छ प्रतिवेदन




