
महोत्तरी — बोक्सीको आरोपमा छिमेकी महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा महोत्तरीको मनरा शिसवा नगरपालिका-१० को मरुवाहीका चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामसिंहासन चौधरीका छोराहरु रामविनय, रामसिकिल, नाति साजन र छिमेकी राजकुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनाका मुख्य आरोपित रामसिंहासन फरार छन् ।
गत बुधबार साँझ रामसिहासनकी १३ वर्षीया नातिनी अचानक बिरामी परिन् । उनी अचानक बेहोस भएपछि बाहिर निस्केर रामसिंहासन छिमेकी भोला चौधरीलाई 'तेरी श्रीमतीले बोक्सी लगाएको' भन्दै गालीगलौजसँगै हातपात गरे । भोला कामबाट घर फर्किएका थिए । हल्ला सुनेर घर बाहिर आएकी भोलाकी पत्नी सतीदेवी चौधरीमाथि परिवारै मिलेर जाइ लागे । बोक्सी लगाएर नातिनी बिरामी बनाएको आरोप लगाएर अश्लील गाली गर्दै कुटपिट गरे । मलमूत्र खुवाउने प्रयास गरे ।
दुर्व्यवहार यति मात्रै भएन, भोलिपल्ट बिरामी नातिनीलाई भोलाको आँगनमा ल्याएर सतीदेवीलाई 'बोक्सी ठिक गर' भन्दै गाली गरे। सतीदेवीले 'दुर्व्यवहारविरुद्ध प्रहरीमा जान्छु' भन्दै भिडियो बनाउन मोबाइल निकालेपछि भने उनीहरु हच्किए । बालिकालाई उठाएर घर लगे ।
घटनापछि सतीदेवीले ५ जनाविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन् । पीडितको उजुरी पछि ४ जनालाई गत आइतबार नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले बताए ।
पक्राउ परेकाहरुलाई हिरासतमा राखेर बोक्सीविरुद्धको कसुर २०७२ अनुसार मुद्दा चलाउन एक हप्ताको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए । पक्राउ परेकामध्ये १९ वर्षका साजन चौधरीले भने आफू लोकसेवाको परीक्षा तयारीमा रहेको र दुई परिवारको भनभनमा आफू संलग्न नभएको बयान दिएका प्रहरीले जनाएको छ ।
घटनाकी पीडित सतीदेवीले आफूमाथि अमानवीय व्यवहार गर्नेलाई हदैसम्म कारबाही माग गरेकी छन् । उनले भनिन् 'मलाइ लछारपछार पारे । अर्धनग्न बनाएर कुटे । मलमूत्र खुवाउन खाेजे। उनीहरु सबैलाई कारबाही हुनुपर्छ ।'