
महोत्तरी — महोत्तरीको बर्दिवासमा डेंगी संक्रमितको संङ्ख्या ९१ पुगेको छ । पछिल्लो दुई महिनामा डेंगीका बिरामी बढ्ने क्रम पहिलेभन्दा तीब्र रहेको बर्दिवास नगरपालिकाले जनाएको छ ।
बर्दिवास अस्पताल, जनसेवा अस्पताल बर्दिवास, शुभस्वास्तिक अस्पताल र ओम प्याथोलोजीमा डेंगी परीक्षण गराउने बिरामीमध्ये दैनिक ४ देखि ५ जनामा संक्रमण देखिएको बर्दिवास नगरपालिकाका स्वास्थ्य शाखा सह-संयोजक रामबाबु यादवले जानकारी दिए ।
उच्च ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने जस्ता डेंगीका लक्षण भएका बिरामी अस्पतालमा बढ्दै गएको जनसेवा अस्पताल बर्दिवासका जेनरल फिजिसियन डा. गणेश श्रेष्ठले बताए ।
भदौ महिना लागेसँगै अस्पतालमा आउने अधिकांश बिरामी डेंगीकै लक्षण लिएर आउने गरेका र डेंगी परीक्षण गर्दा धेरै बिरामीमा संक्रमण पुष्टि हुने गरेको डा. श्रेष्ठले बताए ।
यसैबीच बर्दिवासमा डेंगी नियन्त्रण गर्न बर्दिवास नगरपालिकाले विभिन्न अभियान संचालन गरेको पनि जनाएको छ । डेंगी सार्ने लामखुट्टेको लार्भा सफा पानिमा हुर्कने भएकाले नगरपालिकाको टोलीले पानी जम्ने ठाउँ खोजी लार्भा नष्ट गरिरहेको छ ।
नगरक्षेत्रमा लामखुट्टे मार्न औषधि छर्किने काम गरिएको पनि स्वास्थ्य सह संयोजक यादवले बताए । अभियान जारी नै रहेको भए पनि संङ्क्रमण फैलँदो अवस्थामा रहेकाले सबै नगरवासीलाई सचेत रहन र लामखुट्टेको बासस्थान नष्ट गर्न यादवले सबैलाई आग्रह गरे । अहिलेसम्म संक्रमित व्यक्तिमा जटिल अवस्था नदेखिएको भए पनि सबैलाई चिकित्सकको सल्लाह अनुसार सुरक्षित रहन आग्रह गरिएको यादवले बताए ।
वर्षाको समयमा परेको पानी जम्ने र जमेको सफा पानीबाट लामखुट्टेको लार्भा वृद्धि हुने साथै अन्य पानीका स्रोतबाट समेत यो संक्रमण फैलन सक्ने हुँदा घर वरपर पानी जम्न नदिन र लामखुट्टेको टोकाइबाट बच्न डा. श्रेष्ठले सबैमा आग्रह गरे ।