
सर्लाही- सर्लाही जिल्लामा पहिलो पटक नापी कार्यालय सर्लाहीले चन्द्रनगरमा जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरेको छ ।
चन्द्रनगर गाउँपालिका प्रमुख राजकुमार महतो र नापी कार्यालय सर्लाहीका प्रमुख संजय मानन्धरले जिल्लामा पहिलो पटक चन्द्रनगर गाउँपालिका वडा नं ४,स्थित गढाटोलमा लालपुर्जा वितरण गर्नुभएको हो ।
आज (सोमवार) बिहान दलित बस्तीका ४५ जनालाई जग्गा धनी पुर्जा (लालपुर्जा) वितरण गरेको हो । चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोको पहलमा पुस्तौँ पुस्ता देखि जोत भोग गरिरहेको गाउँ ब्लक जग्गाको लालपुर्जा सम्बन्धित व्यक्तिहरूलाई प्रदान गरिएको हो ।
स्थानीय नागेन्द्र महराले पहिलोपटक जग्गा धनी पुर्जा प्राप्त हुँदा आफूहरूलाई धेरै खुसि लागेको बताउनुभयो । आफ्नो पिता पुर्खा देखि लालपुर्जा थिएन , धेरै दुःख लाग्थ्यो उहाँले भन्नुभयो । जग्गा धनी पुर्जा प्राप्त भएपछि आफूहरूको दुःखका दिन गएको उहाँले बताउनुभयो । अप्ठ्यारोमा बैङ्कबाट ऋण लिन भन्दा धितो राख्ने सम्पत्ति थिएन,साहुले पत्याउँदैनथे,अब सहज भयो खुसी लागेको छ , उहाँले भन्नुभयो । माझी मुसहर समुदायका स्थानीयको कथा उस्तै छ,उनीहरूले आफूहरू सँग तीन पुस्ता सम्म पनि जग्गाधनी दर्ता प्रमाण पुर्जा नभएको मा अहिले जग्गा धनी पुर्जा प्राप्त हुँदा आफूहरूलाई निकै खुसी लागेको बताउनुभयो ।
वडा नं. ४ का संझा देवी माझीले बर्षौ वर्ष देखी आफूहरू जग्गा भएर पनि जग्गाको अधिकार विहीन भएर बस्न बाध्य रहेकोमा अहिले धनी पुर्जा प्राप्त हुँदा खुसि लागेको बताउनुभयो ।
बिगत १५ वर्ष यता गाउँ ब्लकको जग्गाहरू नापी भए पनि जग्गाधनी दर्ता प्रमाण पुर्जा जारी भएका थिएनन् , तर ३ वर्षमै चन्द्रनगर गाउँपालिकाको पहलमा सर्लाहीमा पहिलो पटक गाउँपालिकामै जग्गा धनी पुर्जा वितरण भएको नापी कार्यालय सर्लाहीका प्रमुख संजय मानन्धरले बताउनुभयो।
नापी कार्यालयमा गाउँपालिका अध्यक्ष महतोले जिल्लाका २० वटै पालिकाहरू मध्ये पहिलो पटक आएर जग्गाधनी दर्ता प्रमाण पुर्जाको विषयमा छलफल गरेको र आज जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण भइरहेको नापी कार्यालय मलंगवाका प्रमुख मानन्धरले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष महतोले गाउँ ब्लकको लाल पुर्जा वितरण हुनु भनेको चन्द्रनगर गाउँपालिकाको लागि शुभ सन्देश भएको बताउनुभयो । अध्यक्ष महतोले राष्ट्रिय भूमि आयोग अन्तर्गत चन्द्रनगरमा लगत सङ्कलन कार्य भइसकेको र आवश्यक प्रक्रिया पुर्याई भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी पुर्जा वितरण गरिने बताउनुभयो ।