
काठमाडौं - सरकार र आन्दोलनरत शिक्षकहरुबीचको सहमतिमा राहत शिक्षकले असहमति जनाउँदै वार्ता बहिस्कार गरेका छन् । राहत शिक्षकले सहमतिलाई धोकाको संज्ञा दिदैं यो सहमति केही महासंघका प्रतिनिधि र सरकारबीच भएको तर आफूहरुको सहमति नरहेको बताएका छन् ।
राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले आफूहरुले महासंघ र सरकारबीचको सहमतिमा असहमति जनाएको बताए । उनले सहमतिले राहत शिक्षकको माग सम्बोधन गर्न नसकेको बताउँदै २०७५ सालअघि राहत दरबन्दीमा नियुक्त ४० हजार शिक्षकलाई विस्थापित नगरी ऐन बन्नुपर्ने मागमा कुनै सहमति नभएको जनाए ।
सरकारसँगको सहमतिसँगै शिक्षक महासंघले आन्दोलन फिर्ता लिएर आइतबारदेखि विद्यालय फर्कने बताइरहेका बेला राहात शिक्षकले भने आन्दोलन जारी नै राख्ने चेतावनि दिएको छ । राहत शिक्षक केन्द्रीय महासचिव कुमार बजगाईंले आफूहरूका मागमा चासो नराखेका कारण अब शिक्षक महासंघबाट अलग भएर आन्दोलन जारी राख्ने बताए।
सरकारका मन्त्रीहरु तथा शिक्षक महासंघ र विभिन्न दल निकट शिक्षक संगठनका प्रतिनिधिबीच शुक्रबार सिंहदरबारमा भएको वार्तामा सहमति भएको थियो । विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरुले बिहीबारदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गरेका थिए ।