
जलेश्वर- जिल्लाको सदरमुकाम समेत रहेको जलेश्वर नगरपालिका वडा नं. १२ स्थित स्वास्थ्य चौकी नैन्हीमा रहेको बर्थिङ सेन्टर गाईभैँसी र बाख्राको खुल्ला गोठमा परिणत भएको छ ।
बर्थिङ सेन्टरको परिसरमै जथाभाबी स्थानीयहरूले भैँसी, गाई, गोरु, बाख्राहरू बाँध्न थालेपछि स्वास्थ्य चौकी नैन्ही खुल्ला गोठमा परिणत भएको स्थानीयको भनाइ छ । गएको असार ३ गते तामझामका साथ सो वर्थिङ सेन्टरको उद्घाटन जलेश्वर नगरपालिकाको नगर प्रमुख सुरेश साह सोनारले गर्नुभएको थियो ।
उद्घाटन पश्चात् सञ्चालनमा आएका वर्थिङ सेन्टर आवश्यक रेखदेख र सरसफाइको अभावमा यस्तो हविगत हुन पुगेको निमित्त वडा अध्यक्ष रसिलाल यादव स्विकार्नुभयो । “यो स्वास्थ्य चौकीको दुई चार साल पहिल्यैदेखि नै यस्तो अवस्था रहँदै आएको छ, यसलाई ठिक गर्न नगरप्रमुखलाई जानकारी गराई सकेका छौँ ।” निमित्त वडा अध्यक्ष यादवले भन्नुभयो, “खुल्ला परिसर छ, त्यही भएर स्थानीयहरूले जथाभाबी गाई, भैँसी र बाख्रा बाँध्ने गरेका छन्, नगरप्रमुखले एक डेढ महिनाभित्रै परिसरमा पर्खाल लगाएर वर्थिङ सेन्टरलाई व्यवस्थित गर्ने आश्वासन दिनुभएको छ ।”
सो स्वास्थ्य चौकीको पुरानो भवनको अवस्था त झनै बेहाल छ । स्वास्थ्य चौकीको पुराना भवनलाई गहुँको भुँसा (छवालि) भण्डारण गर्ने कक्ष नै बनाइएको छ । वर्षौँ वर्षदेखि सो पुरानो भवनमा गहुँको भुँसा(छवाली) भण्डारण हुँदै आएको जनप्रतिनिधिहरू पनि स्विकार्नुहुन्छ ।
निमित्त वडा अध्यक्ष यादवले भन्नुभयो, “धेरै पहिलादेखि स्वास्थ्य चौकीको पुरानो भवनमा स्थानीयहरूले भुँसा (छवाली) भण्डारण गर्दै आएको छ । यसको रोक थामको लागि प्रयास नभएको पनि होइन, तर परिसरमा पर्खाल नहुँदा प्रयास असफल हुँदै आएको छ ।”
वर्थिङ सेन्टरका निम्ति प्रमुख अवधेश मण्डलले वर्थिङ सेन्टरको सरसफाइ र पशु चौपायाको खुलागोठ हटाउने मूल जिम्मेवारी निकाय भनेकै वडा अध्यक्ष लगायत जनप्रतिनिधिको रहेको बताउनुभयो । “स्वास्थ्य चौकी जस्तो ठाउँलाई खुल्ला गोठ बन्न नदिन वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरू गम्भीर हुनु आवश्यक छ ।”
वर्थिङ सेन्टर निमित्त प्रमुख मण्डलले भन्नुभयो “बोर्ड बैठकमा मैले धेरै पटक यो विषय उठाए पनि पर्खाल बिना समस्या समाधान हुन नसक्ने भन्दै यो विषय त्यतिकै सेलाउँदै आएको छ ।” असार ३ गतेदेखि सुरु भएको सो वर्थिङ सेन्टरमा हालसम्म ११ जनाले प्रसूति सेवा लिएको निमित्त प्रमुख मण्डलले बताउनुभयो ।