
लालबन्दी (सर्लाही) - मिडियाको शक्तिले सत्तालाई दिशा निर्देश गर्नेभएकाले सञ्चार क्षेत्रमा कुनै प्रकारको गुट उपगुट हावी हुन नहुने मधेश प्रदेशको भौतिक पूर्वाधारमन्त्री कृष्णकुमार यादवले बताउनुभएको छ । सर्लाहीको लालबन्दीमा शुक्रवार नेपाल प्रेस युनियनको प्रादेशिक भेलालाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले यस्तो बताउनुभएको हो ।

लालवन्दी नगरपालिकाका नगरप्रमुख बासुदेव अधिकारीले लोकतन्त्रमा निरंकुशता सह्य नहुने बताउनुभयो । हाम्रो नगरबाट अघि बढाइएका सम्पूर्ण कार्यक्रम लोकतन्त्र र जनताको पक्षमा रहेको उहाँले दावी गर्नुभयो । लोकतन्त्रको भविष्य यसको सुदृढीकरण, विकेन्द्रीकरण अधिकारलाई सुनिश्चितता गर्नुमा रहेको उहाँको भनाइ छ ।

मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरेन्द्र सिंहले नेपाली कांग्रेस मिसन २०८४ लाई सफल बनाउन प्रेस युनियनले अग्रसरता देखाउनुपर्ने सुझाव दिनुभयो । पछिल्लो समय कांग्रेसका गतिविधिलाई प्रचारप्रसार गर्न प्रेस युनियनको भुमिका गौण भएर युनियन र कांग्रेसबीच तिक्तताको अनुभूति आउन नहुने उहाँको सुझाव छ ।

नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष शिव लम्साल, उपाध्यक्षद्वय जीवन भण्डारी, अनिल कर्ण र महासचिव दिलिप पौडलको उपस्थितिमा पत्रकारको सदस्यता शुद्धिकरण सन्दर्भमा नेपाल प्रेस युनियनको आयोजनामा प्रदेशभरिको आठ वटै जिल्लाका प्रजातान्त्रिक पत्रकारको उपस्थिति रहेको नेपाल प्रेस युनियन मधेश प्रदेशको उपाध्यक्ष धिरेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।