
जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल प्रहरीलाई जनतालाई शान्ति सुरक्षाको प्रत्यक्ष अनुभूति हुनेगरी कामकाज गर्न निर्देशन दिएका छन् ।
६८ औं प्रहरी दिवसको अवसरमा मंगलबार प्रदेश प्रहरी कार्यालय मधेश प्रदेशले जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले नेपाली जनताको प्रहरीप्रतिको भरोसा र विश्वासलाई कायम राखी प्रहरीले इमान्दारितापुर्वक काम गर्नुपर्ने बताए ।
विगतमा मधेश प्रदेशमा आएको बाढी पहिरो सहितका आपतविपतमा प्रहरीले खेलेको महत्वपूणर् सहयोगी भूमिकाको प्रशंसा गर्दै मुख्यमन्त्री यादवले आपतविपतको समयका लागि सदैव तयार भएर बस्नुपर्ने बताए । उनले अपराधीले अपराध गर्दा विभिन्नखालका आधुनिक प्रविधिको प्रयोग गर्ने गरिएको भन्दै प्रहरी अनुसन्धानका लागि प्रहरीलाई प्रविधिसँगको पहुँच बढाउनु पर्नेमा जोड दिए।
उनले प्रदेशमा शान्ति र अमनचयन कायम गर्न प्रदेश सरकारको क्षमताले भ्याए जतिको सहयोग गर्न प्रदेश सरकार तयार भएको बताए। उनले भने, “प्रहरीको काम एकदम गाह्रो छ । चाडपर्वको समयमा सबै विदामा रहेका बेला पनि नागरिकको सुरक्षाका लागि प्रहरी अहोरात्र खटिरहेको हुन्छ । निस्वार्थ सेवा गर्ने प्रहरी जवानलाई सलाम छ ।”
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहमद समीमले नेपालको संविधान र कानुनको परिधिमा रहेर मुस्कान सहितको सेवा दिन नेपाल प्रहरीलाई निर्देशन दिए। उनले कामकाजका वेला विभिन्नखालका दवाव आउन सक्ने भन्दै कसैको दवाव प्रभावमा नपरी नेपाल प्रहरीले इमान्दारितापूर्वक काम गर्नुपर्ने बताए।
प्रदेश प्रहरी प्रमुख एवम प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले नेपाल प्रहरीको गौरवशाली इतिहासबारेमा जानकारी दिंदै विविध आरोह अवरोहबीच कर्तव्यपथमा सहिद भएका प्रहरीप्रति श्रद्धाञ्जलि एवम् परिवारजनमा समवेदना व्यक्त गरे ।
सहिद प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह, प्रमुख सचिव दिनेश घिमिरेसहित सुरक्षा निकायका उच्च सुरक्षा अधिकारीको उपस्थिति थियो ।

सो अवसरमा क्षीरेश्वरनाथ नगरपालिका स्थित ईलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरिक्षक दिपक कार्की लाई उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कारले सम्मानित भएका छन् ।