धनुषाको महेन्द्रनगरमा आयोजित कार्यक्रममा नेकपा एमाले परित्याग गरी ७० भन्दा बढी जेन–जी युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार सम्पन्न पार्टी प्रवेश कार्यक्रममा एमालेका युवा नेता रोहितकुमार साहको नेतृत्वमा उनीहरू कांग्रेसमा आबद्ध भएका हुन्।
नवप्रवेशी युवालाई कांग्रेसका पूर्व सह–महामन्त्री तथा धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेन्द्र यादवले अबिर र माला लगाएर स्वागत गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै यादवले युवाहरूको आगमनले पार्टी थप बलियो र व्यवस्थित बनेको बताउनुभयो। उहाँका अनुसार युवाको सक्रिय सहभागिताले आगामी निर्वाचनमा सकारात्मक परिणाम ल्याउने विश्वास गरिएको छ। “स्वतन्त्रता, विचार अभिव्यक्ति र समृद्धिको सुनिश्चितता नेपाली कांग्रेसले मात्र दिन सक्छ,” उहाँले भन्नुभयो।
युवाहरूको प्राथमिकता रोजगारी, स्वतन्त्र वातावरण र आफ्ना सपना पूरा गर्ने अवसर रहेको उल्लेख गर्दै यादवले कांग्रेसले युवाको आकांक्षा र भावनालाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।





