
महेन्द्रनगर (धनुषा)- धनुषाको साना किसान कृषि सहकारी संस्था लिमिटेड नक्टाझिजमा आबद्ध किसानहरुलाई पोष्ट हार्भेष्ट व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको छ।
मिथिला नगरपालिका वार्ड नं -२ नक्टाझिज स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध भएका ५३ जना किसानहरूलाई बुधवार सहकारीको सभाहलमा हार्भेष्ट व्यवस्थापन (उत्पादनोपरान्त प्रविधि) सम्बन्धी तालिम प्रदान गरिएको हो।

विशेष गरी तरकारी उत्पादन, ग्रेडिङ्ग, बजारीकरण र रोग किरा नियन्त्रण सम्बन्धी विषयमा सहभागीहरुलाई तालिम दिइएको थियो । कुनै पनि बाली टिपिसकेपछि उपभोक्तासम्म नपुगन्जेल बस्तुको उचित व्यवस्थापन गरि नोक्सानी हुनबाट बचाउनु पोष्टहार्भेस्ट व्यवस्थापन भएको हुँदा विशेष गरी तरकारी खेतीसँग सम्बन्धित रहेर सहभागीलाई तालिम दिइएको कुरा सहकारीका प्रबन्धक सुर्यनारायण महतोले बताउनुभयो।
उनका अनुसार पहिलो चरणको तालिममा २१२ जना किसानहरूलाई तालिम दिईएको थियो भने दोस्रो चरणको तालिममा १४२ जना किसानहरूलाई तालिम दिईसकेको र बाँकी रहेका किसानहरूलाई समेत तालिम दिइने भएको छ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड र आसमान नेपालको संयुक्त आयोजना र युकेएआइडी र कासा को आर्थिक सहयोगमा सञ्चालित हार्भेष्ट व्यवस्थापन (उत्पादनोपरान्त प्रविधि) सम्बन्धी तालिम लुम्बिनी प्रदेश र मधेस प्रदेश का साना किसान कृषि सहकारी संस्था लिमिटेडहरु सँग समन्वय र सहकार्य गर्दै किसानहरूलाई कृषि कार्यमा सक्रिय भएर काम गर्ने आवश्यक सिपहरु प्रदान गर्दै आएको छ। किसानहरुले तरकारी बजारीकरण गर्ने क्रममा बिचौलियाहरुबाट कसरी बच्ने र किसानको तरकारी बजारीकरण गर्ने उदेश्यले सहकारी टु सहकारी र बजारीकरण गर्ने उदेश्य राखेर तालिम प्रदान गर्दै आएको छ।
"आली देखि थाली सम्म ,गाईको गोठ देखि ओठ सम्म " भन्ने मुल नाराका साथ किसानहरूलाई तरकारी ,फलफूल दुवानी , प्याकिङ, स्तरिकरण,उचित भण्डारण बारे सिप सिकाउदै किसानहरुद्वारा उत्पादित ताजा तरकारी समयमा उपलब्ध गराउन सङ्कलन केन्द्रको रुपमा काम गर्न र बजारीकरण प्रवद्र्धन गर्नमा किसानहरूलाई उक्त जानकारी दिई सहजिकरण गरिरहेको कुरा तालिमका स्थानिय प्रशिक्षक रामचन्द्र महतो बताउँछन्।

तालिममा अर्को प्रशिक्षकको रुपमा रहेको शिवशंकर प्रसाद सिंहका अनुसार "हामीले पहिलो चरणमा दिएका तालिमबाट सिपहरु सिकेर किसानहरूले व्यवहारमा लागु गरी सिक्दै आएका छन्। यसमा किसानहरूले सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न सके किसानहरु आफै आत्मनिर्भर वन्न सक्ने कुरा बताउँछन्।
कृषि सहकारी केन्द्रीय संघ लिमिटेड का प्रादेशिक सामाजिक परिचालक नितिश कुमार का अनुसार तालिमको उदेश्य ग्रामीण उत्पादकहरूलाई सहरी बजारसँग जोड्न केन्द्रिय संघको किसानको पोको मोडल विकासका लागि दोस्रो पक्षले समयमै तरकारी उपलब्ध गराई सो को बजारीकरणको जिम्मेवारी किसानलाई दिनु हो ।