
बारा - बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलको बाल एकता स्कुलका प्रिन्सिपल रूपेश सर्राफको हत्यामा संलग्नलाई प्रहरीले आज सार्वजनिक गर्दैछ ।
सर्राफको हत्यामा संलग्नलाई प्रहरीले मंगलबार पत्रकार संम्मेलन गर्ने भनेता पनि सर्राफको हत्यामा संलग्न केही व्यक्ती पक्राउ नपरेको पक्राउ परे पछि आज पत्रकार सम्मेलन गर्न लागिएको हो ।
बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले प्रिन्सिपल सर्राफको हत्यामा संलग्नलाई दिउँसो १ बजे सार्वजनिक गरिने जानकारी दिए।
हत्यामा संलग्न भएको आशंकामा प्रहरीले अहिलेसम्म १० जनालाई पक्राउ गरी सोधपुछ गरेको छ । सोधपुछका क्रममा संलग्नता पुष्टि भएकाहरूलाई बारा प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागेको हो ।
सोमबार दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले ३९ वर्षीय प्रिन्सिपल सर्राफमाथि गोली प्रहार गरेका थिए ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले दिएको जानकारीअनुसार पक्राउ परेकी महिला राधा गुप्ता हुन् । उनी मदरसा टोलमै बसोबास गर्छिन् । पक्राउ परेका अर्का व्यक्ति भारतीय नागरिक मनोज गुप्ता छन् ।
राधा उक्त स्कुलकी पूर्वलेखापाल हुन् । उनी र सर्राफबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । प्रिन्सिपल सर्राफ विवाहित हुन् । उनका दुई छोरा छन् । केही समयअघि सर्राफ र राधाबीचको प्रेम सम्बन्ध बाहिरिएको थियो ।
मनोज पनि राधाको प्रेमी हुन् । राधा र प्रिन्सिपल सर्राफ बीचको सम्बन्ध बाहिरिएपछि मनोजकै जोडबलमा राधाले जागिर छाडेकी थिइन् ।
मनोजले सर्राफलाई राधाको पिछा छाड्न भनेका थिए । तर सर्राफ नमानेको भन्दै उनीहरूकै योजनामा हत्या भएको खुलेको हो। यसबारेमा प्रहरीले आज विस्तृत रूपमा जानकारी दिनेछ ।