
जनकपुरधाम- बालबालिकामा संसदीय अभ्यासको विषयमा अभ्यस्त गराउने तथा उनीहरुमा नेतृत्व क्षमता विकासका लागि मधेश प्रदेशस्तरीय नमूना बाल संसद सभा बैठक आज सम्पन्न भएको छ ।
बालबालिकामा रहेको अन्तरनिहित क्षमताको विकास गर्दै नेतृत्व क्षमताको विकासका लागि सेभ द चिल्ड्रेन र आममान नेपालको साझेदारीमा सञ्चालित संकल्प परियोजनाको सहयोगमा जनकपुरधाममा नमूना संसद बैठक आज सम्पन्न भएको हो । नमूना बाल संसदमा मधेश प्रदेशका आठवटै जिल्लाहरुबाट वडा, पालिका, जिल्ला तथा प्रदेशस्तरीय बालक्लब सञ्जालमा आबद्ध रहेका १५ देखि १७ वर्षसम्म उमेर समूहका ३२ जना बालबालिकाहरुको सहभागिता रहेको मधेश प्रदेशस्तरीय बालक्लब सञ्जालका उपाध्यक्ष कमल साहले जानकारी दिए । मधेश प्रदेशको नमूना संसदमा ४ जना मन्त्री सहित १८ जना सत्तापक्ष तथा १४ जना प्रतिपक्षी दलका नमूना सांसदका बीचमा प्रदेश सभा सञ्चालनको विषयमा अभ्यास गराइएको थियो । बालबालिकाहरुले अभ्यस्त तरिकाले संसदीय गतिविधि सञ्चालन गरेका थिए ।
नमूना बाल संसदमा बाल प्रदेश प्रमुखले प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुका साथै प्रदेश सभा सञ्चालनको क्रममा हुने गरेको विषेश समय, शून्य समय र नियमित तालिका बमोजिमको समयमा उठेका जिज्ञासाहरुको जवाफ नमूना मूख्यमन्त्री तथा अन्य मन्त्रीहरुवाट दिने काम भएको थियो ।
प्रदेश सभामा रहने सभामुख, संसदीय दलका नेता, सचेतकहरु तथा संसद सचिव सहितको भूमिका बालबालिकाहरुले प्रभावकारी रुपले निर्वाह गरेका थिए ।साथै प्रदेश प्रमुख, मुख्यमन्त्री तथा विषयगत मन्त्रिहरुको भूमिकामा रहेर उनीहरुले आफ्नो क्षमता प्रदर्शन गरेका थिए । नमूना बाल संसदले बालबालिकाहरुमा आफ्ना अधिकारका विषयहरु प्रभावकारी रुपमा उठान गर्ने क्षमताको विकास गर्ने, संसदीय व्यवस्थाको प्रक्रिया र भूमिकाबारे जानकारी हासिल हुने तथा अनुशासित ढंगले जिम्मेवारी निर्वाह गर्ने बानीको विकास हुने र समग्रमा यस्ता कार्क्रमहरुमा हुने बालबालिकाहरुको अर्थपूर्ण सहभागिताले उनीहरुको नेतृत्व विकासमा सहयोग पुग्ने विश्वास सेभ द चिल्ड्रेनको रहेको संस्थाका नीति सहयोग संयोजक झम्केश्वर ओझाले जानकारी दिए ।
नमूना बाल संसदको निर्माण पनि क्लष्टरको आधारमा समावेशी रुपमा गरिनुका साथै बालिकाहरुको सहभागितालाइ उच्च प्राथमिकता दिइएको थियो । यसअघि बालबालिकाहरुले मधेश प्रदेश सभाको स्थलगत अवलोकन गर्नुका साथै संसदीय प्रक्रिया र भूमिकाका बारे प्रदेश सभासद्सँग अन्तरक्रिया समेत गरेका थिए । बालबालिकासँगको अन्तरक्रियापछि मधेश प्रदेश सभाका सदस्य राम आशिष यादवले बालबालिकाहरुको जिज्ञासा तथा उत्सुकताबाट आफू असाध्यै प्रभावित भएको बताउँदै उनीहरुमा भविष्यको नेतृत्वको रुपमा प्रचूर सम्भावना रहेकोले यस्ता अवसरहरुमा बालबालिकाको पहुँच र सहभागिता बढाउनुपर्ने बताए ।नमूना बालसंसदमा बालबालिकाहरुले गरेको अभ्यास कुनै जिम्मेवार पदाधिकारीले गरेको भन्दा कमजोर नरहेको र यस्ता अभ्यासले उनीहरुको आत्मबल बढेर जाने आसमान नेपालका कार्यक्रम संयोजक अमित यादवले बताए ।