सर्लाही।सर्लाहीको धनकौल गाउँपालिकाका एक जना वडाध्यक्ष पुर्पक्षमा कारागार चलान भएका छन् ।
ज्यान मार्ने उद्योगमा धनकौल गाउँपालिका–५ का वडाध्यक्ष गजेन्द्र महतोलाई सर्लाही जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएको हो ।केही महिनाअघि केही मानिस घाइते हुने गरी गाउँमै भएको कुटपिटको घटनामा महतो समेत संलग्न रहेको भनी जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान उद्योगमा मुद्दा दायर भएको थियो ।



मुद्दा दायर भएदेखि फरार रहेका महतो मङ्गलबार अदालतमा उपस्थित भएका थिए ।न्यायाधीश थापाको इजलासले मुद्दाको अन्तिम फैसला नआउन्जेल वडाध्यक्ष महतोलाई पुर्पक्षमा कारागार पठाउने आदेश गरेको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।
महतो स्थानीय तह निर्वाचन–२०७९ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।यस मुद्दामा अन्य केही व्यक्तिलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । ती व्यक्तिहरू फरार रहेका र तीनको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।





