
जनकपुरधाम- नेपालीहरुको दोश्रो ठूलो चाड दिपावली नजिकी रहेको समयमा परम्परागत रुपमा माटोको भाडाँ वनाउने काम गर्दै आएका कुमालेहरुलाई माटोको दियो लगायतका पुजाका भाँडा वनाउन निकै व्यस्त बनेका छन् ।
अरु बेला फुर्सदिला हुने कुमालजाती दिपावली, छठ जस्ता चाड पर्वहरु आएर व्यस्त भएका हुन् ।
दिपावलीको समयमा दियो ,धुपोउरो कलश लगायतका माटोका सामाग्रीहरुको माग बढी हुने गरेको कारण कुमालेहरुलाइ अहिले यस्ता सामाग्रीहरु बनाउन भ्याइनभ्याई छ ।
अन्य समयमा आलमोनियम र प्लाष्टीकका भाडाँहरुको कारण वजार पाउन नसक्ने माटाका भाडाँहरु दिपावली छठ लगायतका चाडपर्वका समयमा भने माग बढी हुने गरेको छ । पुजाका लागि आवश्यक पर्ने माटाका भाडाँहरुको माग वढ्ने गरेको कारण यो समयमा कुमालेहरुलाई भ्याइनभ्याई हुने गरेको छ । विशेष गरी दिपावलीलाई वत्तीको पर्वको रुपमा समेत लिने गरीएको छ ।

झिलीमीली वत्ती वालेर धुमधामका साथ मनाईने दिपावली अर्थात तिहारमा अन्य समयको भन्दा वढी माटाका दियो , धुपोउरो,कलश लगायतका समाग्रीहरुको माग हुने गरेको कारण यो समयमा कुमालेहरु यस्ता समाग्रीहरु वनाउन व्यस्त रहने गरेका छन ।
धनुषाको विभिन्न पालिकामा वसोवास गर्ने कुमालेहरुले पुर्खौली पेशाको रुपमा माटोको भाडाँ बनाउने काम गर्दै आएपनि पछिल्लो समयमा माटोको काममा निर्भर हुन सकिने अवस्था नभएकाले चाडपर्वका समयमा मात्र माटोको काम गर्ने र अन्य समयमा अन्य काम गर्न थालेका छन् ।
चाडपर्वको विधि र प्रयोगको अभ्यासले दसैँभन्दा तिहार र छठमा माटाका भाडाको माग बढ्ने भएकाले दसैँ सके लगत्तै कुमालहरु माटाका भाडा बनाउन दिनरात नभनी जुटेका छन्। चाडपर्वका वेला बढी खपत हुने माटोको भाँडा माग अनुसारको पुरा गर्न यतीवेला कुमालेहरुलाई भ्याइनभ्याइको देखिएको छ ।

दीपावली (तिहार) र छठ पर्वमा कलश, दियो, घडा (गाग्रो) र छ्याँची (दही जमाउने भाडा), तौला (माटोको डेक्ची) र ढकना (बिर्को) सहित नयाँ माटाका भाडा प्रयोग गरिने मैथिल परम्पराअनुसार धनुषा सहित तराईका जिल्लाहरुका गाउँ, नगर, बस्तीमा माटाको माग बढ्ने गरेको छ।
यसै बेलालाई आफ्नो कमाइको मुख्य अवसर ठानेका कुमाले अहिले भाडा बनाउन व्यस्त भएका हुन्।
‘दसैँमा त हाम्रो सीपको खासै माग हुँदैन, खोजमेल गरेर नै दसैँ टारियो’, क्षीरेश्वरनाथ नगरपालिका–८ इच्छापुरका कुमाले टोलका सुरेन्द्र पण्डित कुमालले भने, ‘दीपावली र छठमा भने अनिवार्य विधिमै माटाका भाडाको प्रयोजन जोडिएकाले हाम्रो माग बढ्छ। दसैँपछिको तिहार र छठअघिको समय नै आफूहरुको वर्षभरिको नगद खर्चको जोहो गर्ने उपयुक्त समय हुने सुरेन्द्रको थप भनाइ छ।

अन्य बेला खासै प्रयोगमा आउन छाडेका माटाका भाडा पर्व विशेषमा मिथिला परम्परामा अनिवार्यजस्तै मानिँदै आइएकाले जिल्लाका सबैजसो बजारमा यसको बेग्लै बजार जमेको देखिँदोछ। कुमालजातीले परम्परादेखी माटोको भाँडा बनाउदै आएपनि अहिलेका युवा पुस्ताले परम्परागत पेशालाई नअपनाएपछि बजारको माग अनुसार धान्न गा¥हो भएको उनिहरु बताउन्छन् ।
दीपावली र छठपर्वमा बालिने बत्ती माटोकै दियोमा बालिने, छठपर्वमा सूर्यदेवलाई चढाइने दही माटोकै छ्याँचीमा जमाउनु पर्ने, लक्ष्मीपूजा र छठ आराधनाका बेला माटोकै कलश स्थापना गरिने र अन्य पूजा सामग्री पनि माटोका नयाँ भाडामा राखिनुपर्ने परम्परागत मान्यताले यी पर्व विशेषमा माटाका भाडाको कारोवार बढ्ने गरेको छ। यसै परम्पराको अवसरमा दीपावली र छठअघि माटाका भाडाको बजार जम्ने गरेका कुमालहरु बताउँछन्।
माटोको दियो तथा अन्य माटोको भाँडा वनाउन धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ४ हरैयामा बसोबास गर्ने कुमालेहरु यतीवेला व्यस्त भएको देखिन्छ । उनिहरुले बनाएका माटाका भाँडाहरु सखुवा बजार, महेन्द्रनगर, ढल्केवर, जनकपुरधाम देखी महोत्तरीको वर्दिवास सम्म बिक्री वितरण हुने गरेको छ ।

दीपावली र छठ मिथिला क्षेत्रको साझा पर्वजस्तै भएकाले धनुषाका सबैजसो गाउँनगर बस्तीका हटियामा माटाका भाडाका छुट्टै बजार लाग्ने गरेको छ। साप्ताहिक हाट बजार (सातामा दुई दिन सम्म लाग्ने बजार) बाहेक नगरगाउँ बस्तीका चोकचोकमै कुमालेले माटाका भाडाको बजार लगाउन शुरु गरिसकेका क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश यादव बताउँछन्। उनले मिथिला क्षेत्रमा माटाका नयाँ भाडा शुभकार्य गर्न उत्तम हुने सामाजिक, सांस्कृतिक र धार्मिक मान्यताले दीपावली र छठ पर्वमा यसको माग बढ्ने गरेको बताए ।
विष्णु पण्डित कुमालेको अनुसार आफूले माटाका भाँडा बनाउन थालेको ४५ वर्ष जति भयो । हजुरबुवाहरुबाट आफुले यो सिप सिकेर माटाका भाँडा बनाउदै बिक्रि बिवतरण गरीरहेको उनले बताए ।उनले एक दिनमा ५ सय जति माटोको दिया बनाउने गरेको बताए ।चिने जानेकोले घरमा आएर खरीद गर्ने गरेको उनले बताए । बढी जसो होलसेल पसलमा माटाका भाँडा बिक्री गर्ने गरेका पण्डितले बताए । अहिले आफु सगँ भए जतिको माटाका दियाँहरु सबै बिक्री बिवतरण गरीसकेको र नयाँ बनाउन लागेको उनले बताए ।उनले भाडा बिक्रीबाट आर्जित आम्दानीबाटै तिहार, छठ मनाइने, दसैँ मनाइएको सरसापट तिर्ने र वर्षभरिका अन्य नगद खर्चको जोहो गरिने अहिले आपूmहरुको उपयुक्त अवसर भएको बताउँछन् ।

यसपालि दसैँ सकिए लगत्तै जमेको माटाका भाडाको बजार छठसम्म रहने भएकाले र मूल्य वृद्धि समेत भएकाले यो छठ पर्व सम्म करिब करिब १५ लाखभन्दा बढीको कारोवार हुने जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए ।
कुमालेहरुको मुख्य पेशा माटाका भाडा बनाउने रहेपनि थोरै आम्दानी हुने भन्दै नयाँ युवा पुस्ताले परम्परागत पेशालाई अवमुल्यन गरेका कारण चाडपर्वको वेला बढेको माग पुरा गर्न हम्मे हम्मे परेको क्षीरेश्वरनाथ नगरपालिका ६ सखुवाबजार का ५५ वर्षिय लक्ष्मण पण्डित कुमालेले बताए। सरकारले माटोको भाँडा बनाउने व्यवसायको बजार प्रवर्धनमा सहयोग गरेमा नयाँ पुस्ताको आकर्षण बढ्ने र परम्परा पनि कायम रहने उनको आशय छ।
सखुवाबजार नयाँटोल बस्ने ६० वर्षीय जयनारायण पण्डितले माटोको पूजाका लागि भाँडाकुँडा बनाउदा अरु बेलामा भने जस्तो आम्दानी नहुने हुँदा जिविकोपार्जन मै समस्या हुने गरेको बताए। पुर्खाले अगाल्दै आएको पेसालाई आफुहरुले छोड्न नसकिएको उनको भनाई छ । भने जस्तो आम्दानी नभए पनि सामान्य रुपमा घर खर्च चलिरहेको छ । केही वर्ष आगाडि सम्म माटाका भाडाँ वनाउने पेशा अँगाल्दै आएका कुमालेहरु वढ्दो आलमोनियम र प्लाष्टीकका भाडाँहरुसंग माटाको भाडाँले प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् ।

प्लाष्टिकका सामानहरु सस्तोमा पाउने तथा आफुहरुले प्रयोग गर्ने माटो, दाउरा र रंगरोगनका सामाग्रीको मुल्य बढेका कारण पेशालाई निरन्तरता दिन कठिनाइ भएको वटेश्वर गाउँपालिका ५ शान्तिपुरका दशरथ प्रसाद पण्डितले बताए। आफुहरुले ३६ किसिमका माटाका भाँडाहरु बनाउने गरेको उहाँको भनाई छ । अहिले माटो लगायत बनाइएको सामग्रीहरु आगोमा पकाउनको लागि आवश्यक सबै सामग्रीहरु खरीद गर्नु पर्ने हुँदा लागत अनुसारको आम्दानी नहुने भएकोले युवा पुस्ताले परम्परागत पेशाप्रति उदासिनता देखाएको दशरथ पण्डितको भनाईछ । अहिलेसम्म पुख्र्याैली पेशालाई आफुहरुले जसोतसो धानेपनि नयाँ पुस्ताले देखाएको उदासिनताका कारण भविष्यमा माटोको भाँडाको विकल्पमा अन्य भाँडाले ठाउँ लिनेमा चिन्तीत कुमाले जाती देखिन्छन् ।
मिहिनेत अनुसार आम्दानी नहुने तथा माटोको भाडाँकुडा वनाउन प्रयोग हुने माटो सहज रुपमा नपाइने , माटोका भाडाँ पोल्न प्रयोग गरिने दाउँरा , रगंरोगनका सामाग्रीको मुल्य वृद्धि भएपनि आफुहरुले वनाएका माटाका भाँडाहरुले मुल्य नपाउने गरेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ८ इच्छापुरका कुमाले सुरेन्द्र पण्डित गुनासो गर्दछन् । चाडपर्वको समयमा अन्य समयमा भन्दा वढी माटाका पुजा सामाग्रीको माग वढी हुने गरेको भएपनि अन्य समयमा माटाको भाडाँहरुको माग हुन छोडेको उनि वताउछन्।

माटोको काम गर्नेहरुलाई सरकारी स्तरबाट खासै चासो नदिएको भन्दै स्थानीय सरकार तथा अन्य निकायहरुले माटोको काम गर्नेहरुलाई प्रोत्साहन गर्न माटो मुछ्ने मेशिन , माटोको भाडाँ वनाउने चक्र सहित समयसमयमा सेरामीक तालिम समेत उपलव्ध गराउनु पर्ने क्षीरेश्वरनाथ नगरपालिका ४ हरैया बिष्णु लाल पण्डितले बताए ।
