महेन्द्रनगर- धनुषाकाे मिथिला नगरपालिका २ नक्टाझिजमा गएराति एक घरमा डकैती भएकाे छ । स्थानीय रामकेवल महताेकाे घरमा डाँका समूहले राति करिव १२ बजेकाे समयमा घर पछाडिको बाटाे प्रवेश गरी लुटपाट र डकैती गरेकाे महताेले बताएका छन् ।
पाँचजनाकाे समूहमा हातहतियार सहित घरमा प्रवेश गरेकाे डाँकाले आफुमाथि पेस्ताेल तेर्स्याउँदै नगद, सुनचाँदीकाेे गरगहना निकाल भन्दै लुटपाट गरेकाे पीडित महताेकाे भनाई छ ।




प्रतिकार गर्न खाेज्दा ज्यान लिने भन्दै पेस्ताेल ताकेर माेबाइल फाेन, श्रीमतिकाे मंगलसुत्र लुटपाट गर्दै घरमा रहेकाे दराज, पेटी फुटाएर नगद, गरगहना डकैती गरेकाे उहाँकाे भनाई छ । डाँका समूहले घरबाट नगद ५० हजार, डेढ ताेला सुन, ३० ताेला चाँदी र ३ सेट माेबाइल फाेन लुटेर लगेकाे महताेले जानकारी दिएका छन् ।
घटना लगतै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जानकारी गराउँदा पनि राति १ बजे आएकाे र घटनाबारे जानकारी लिएर फर्केको स्थानीयले बताएका छन् । डाँका समूहलाई खाेज्न प्रहरीले चासाे नदेखाएकाे स्थानीयकाे गुनासाे छ ।
ईलाका प्रहरी कार्यालयले घटना सम्बन्धि जानकारी पाएपछि डाँका समूहकाे खाेजतलासमा जुटेकाे जनाएकाे छ । पीडित महताे धन्तेरसका दिन हिजाे मात्रै महेन्द्रनगरकाे एक बैंककाे एटिएमबाट नगद ३० हजार झिकेर ल्याएकाे बताए ।




