महोत्तरी- महोत्तरीमा गए राती डाकाहरु र प्रहरी बीच दोहोरो भिडन्त भएको छ। प्रहरीले दुई जना डाकाहरुलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय महोत्तरी जलेश्वर ल्याउने क्रममा डाकाहरु भाग्न खोज्दा भिडन्त भएको हो ।
महोत्तरी लगायत मधेस प्रदेश का विभिन्न जिल्लाहरुमा चोरी डकैती लगायत अपराधीक क्रियाकलाप गरेर फरार रहेका कुख्यात डाकाहरुलाई पक्राउ गरेर ल्याउने क्रममा सोनमा गाउँपालिका ५ मा पुग्दा उनिहरुले प्रहरी माथि गोली प्रहार गरी भाग्न खोज्दा प्रहरीले जवाबी गोली प्रहार गरेका थिए ।



महोत्तरीका प्रहरीका प्रवक्ता डीएसपी दिलिप कुमार गिरीका अनुसार कार्तिक २० गते बिहान करिब अढाई बजे भएको डकैती घटनामा संलग्न दुई जना सर्लाहीको लालबन्दी नगरपालिका- २ बस्ने ३२ वर्षीय शक्ती पासवान र ३३ वर्षीय अजय पासवानलाई रौटहटको गरुडा नगरपालिका ४ पानी ट्याङकी स्थितमा मंगलबार मध्याह्न ३ बजे नियन्त्रणमा लिइएको हो । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिँदा पासवानको साथबाट कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली ४ थान ४ समेत बरामद गरेको थियो ।
पक्राउ परेका दुवै जनालाई महोत्तरी तर्फ ल्याउँदै गर्दा सर्लाहीको संग्रामपुरमा प्रहरीको गाडी बिग्रेको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट अर्को सबारी मगाई उक्त गाडीले महोत्तरीको सिमाना सोनमा गाउँपालिका ५ सम्म राति १० बजे पुर्याए पछि पुन: महोत्तरीबाट आएको अर्को गाडीमा नियन्त्रणमा लिएको व्यक्तीलाई सुरक्षाकर्मीले हाल्न खोज्दा गाडीबाट हामफाली भाग्न खोजेका थिए । प्रवक्ता गिरीले आफ्नो कमाण्डमा खटिएको टोलीले गोली फायर गर्दा दुवै जनाको बायाँ खुट्टाको तिघ्रामा गोली लागेको जानकारी दिए ।
उनले डकैती आरोपमा पक्राउ परेका दुबै जना भाग्न खोज्दा गोली प्रहार गर्नुपरेकाे र गोली लाग्दा दुवै अभियुक्त घाइते भएको र अवस्था गम्भीर रहेको जनाएको छ ।
दुवै जनाको बायाँ खुट्टाको तिघ्रामा गोली लागेको छ । गोली लागेर दुबै घाइते अभियुक्तको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भैरहेको रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
त्यसैगरी उक्त घटनामा परी दुईजना प्रहरी पनि घाइते भएका छन् । घटनामा प्रहरी सहायक हबल्दार संजय जयसवाल र प्रहरी जवान श्याम गिरि घाइते भएको डीएसपी गिरिले बताए ।
गोली लागेका दुवै जनाले गत कार्तिक २० गते बिहान करिब अढाई बजेको समया जलेश्वर नगरपालिका ८ सानो रतवारा बस्ने भुवनेश्वर चौधरीको घरको मुलढोका लगायतको घरको ढोकाहरूको ताल्चा फुटाइ ७/८ जनाको डाका समूह हातहतियार सहित घरमा प्रवेश गरी घरमा रहेको भुनेश्वर चौधरी, जय किसोर चौधरी, सिमा चौधरी रुशैलदेवी चौधरी भान्सा कोठामा लगि बन्द गरी लुटपाट गर्नुको साथै उनीहरुले भुनेश्वर चौधरीको टाउकोमा प्रहार गरी घाइते बनाएको र शैल देवी माथि काठको चिरपटले प्रहार गरी घाइते बनाई घरबाट ४० तोला सुनको गरगहना, चाँदीको ४५ तोलाको गरगहना, एक थान मोबाइल, नगद १ लाख ७५ हजार रकम लुटेको आरोप छ ।
महोत्तरीका एसपी प्रकाश मल्लका अनुसार पक्राउ परेका डाकाहरु माथि विभिन्न किसिमको ११ ओटा मुद्दा चलिरहेको छ । उनिहरुले कार्तिक महिना भित्र मात्र महोत्तरीमा २ धनुषामा १ र रौतहटमा १ डकैती र लुटपाट गरेका छन् ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० को दफा २४४ बमोजिम उनीहरूलाई सजाय हुने एसपी मल्लले बताए ।





