काठमाडौं- रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कोरिया काम गर्न जान खोज्नेले ललितपुरको बालकुमारीमा गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको हो ।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको छ । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडी जलाएका छन् ।




आगजनीमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनास्थलमा प्रहरी वृत सातदोबाटोका डीएसपी उमेश जोशी र जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी उमेश लम्साल नेतृत्वको टोली परिचालन गरिएको छ ।

कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका व्यक्तिहरूको समूहले ईपीएस कार्यालय अगाडि सडकमा टायर बालेर प्रदर्शनमा उत्रेका हुन् ।
घटनास्थलमा काठमाडौंबाट पनि थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।




