बालयौन शोषण र व्यक्ति बेपत्ता बनाएको अभियोगमा पुर्पक्षको लागि जेल चलान भएका कथित तपस्वी रामबहादुर बम्जनले कारागारमा जीमको सुविधा मागेका छन् ।
बिहीबार जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान भएका बम्जनले आफूले घरमा जिम गर्ने गरेको भन्दै जेलमा भए नभएको सोधेका हुन् ।
सर्लाहीमा कारागार नहुँदा उनलाई महोत्तरी कारागार लगिएको हो । महोत्तरी कारागारमा पुरुष मात्र राखिएको छ । महिलालाई सिन्धुली कारागारमा राखिएको छ । कारागार साँघुरो छ ।
अरू धेरै सुविधा छैन । तर कारागार प्रशासनका एक कर्मचारीले भने, “आफूले घरमा जीम गर्ने भनेको भन्दै उनले यहाँ जीम छैन भनेर सोधे । बिहान हिँडडुल गर्ने मात्र ठाउँ छ । यहाँको सुविधाबारे जानकारी गरायौँ ।”
बम्जन पक्राउ परेका घरभित्र जिमखाना नै खडा गरेको भेटिएको थियो । घरमा टप बाथसहितको नुहाउने ठाउँ र आरामदायी बेडरुम भेटिएको थियो ।
कारागारमा बम्जनसँगै अरू ५-७ जना जोगी कैदी पनि छन् । बम्जनले आफूलाई सादा खाना माग गरेकाले अरू जोगीलाई बनाएको खाना दिने कारागारले जनाएको छ । बम्जन बिहीबार साँझ सवा सात बजे जलेश्वर कारागार पुगेका थिए ।
गएको मंगलबार काठमाडौं हात्तीगौंडाबाट उनी पक्राउ परेका थिए । उनी बिहीबार सर्लाही जिल्ला अदालतमा पेस भएका थिए । बिहीबारै बम्जन पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।







