काठमाडौं- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा मधेसले कर्णाली प्रदेशलाई पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा मधेसले कर्णालीलाई ६१ रनले पराजित गरेको हो। २३२ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको कर्णालीले ४१.१ ओभरमा १७० रनमा अलआउट भयो।



कर्णालीका लागि अर्जुन घर्तीले अर्धशतकीय पारी खेले। उनले १०५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ५८ रन बनाए। तथापि, जितको लागि पर्याप्त हुन सकेन। दिनेश अधिकारीले ३३ रन र विपिन शाहीले भने ३१ रन जोडे।
कर्णालीलाई सस्तैमा प्याक गर्न मधेसका राजेश यादवले ३, प्रदिप पास्वानले २ तथा रंजित कुमार, रुपेश सिंह, हरिशंकरण शाह, अभिषेक तिवारी र पवन सराफले १–१ विकेट लिए।
पहिले ब्याटिङ गरेको मधेसले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा २३१ रन बनायो। मधेसका लागि कप्तान हरिशंकर शाह र मयन यादवले अर्धशतकीय पारी खेले। कप्तान हरिशंकरले ५० रन बनाए। मयनले पनि ५० रन जोडे।
कर्णालीका लागि दिपेन्द्र रावतले ४ विकेट लिए। अनुज चनाराले २ तथा दिनेश अधिकारी, उमेश सिंह र दिवान पुनले १–१ विकेट लिए।




