महोत्तरी- उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियान अब नरोकिने बताएका छन् । उनले यसलाई नै मुल आधार बनाएर सरकारले काम गरेको बताए ।
महोत्तरीको बर्दिवास नगरपालिका-३ गौरीडाँडामा कम्युन उन्मुख सामुहिक बसोबास आधारशिलाको २१ औं वार्षिकोत्सवमा उपप्रधानमन्त्री श्रेष्ठले आर्थिक समृद्धिको बाधक भ्रष्टाचार र कुशासन भएको बताए। उनले सुशासनको अभियानमा अब विश्राम नलिने अडान प्रस्तुत गरे ।
सबैले सरकारले खुट्टा कमाउँला कि भनेर आशंका गरिरहेको प्रति लक्षित गर्दै उनले सरकारले सुशासनको अभियानमा ब्रेक नलगाउने स्पष्ट पारे ।
भ्रष्टाचारलाई प्रभावकारी ढंगले नियन्त्रण नगरे विकास र समृद्धिको परिकल्पना गर्न नसकिने जिकिर गर्दै उनले सरकारले त्यसको क्रमिकरुपमा नतिजासमेत देखाइरहेको दाबी गरे । 'गृहमन्त्रालय समाले कै दिन पञ्चायतकालदेखि खाइरहेको गृहमन्त्रीको सुविधा पनि खारेज गरेँ,' उनले भने, 'शरणार्थी काण्डदेखि बाँसबारी छालाजुत्तासम्म आइपुग्दा सरकार अडिग भएर लागिरहेको छ ।'
काम होस् भनेर खबरदारी गर्नेहरु कै कारण सरकारमा आत्मबल सञ्चार भएको बताउँदै गृहमन्त्री श्रेष्ठले पैसावाला, राजनीति पहुँच भएकाहरूले भने सरकारको कामको विरुद्ध खबरदारी गर्ने गरेको पनि बताए ।
सामन्तवादको निकृष्ट सोच कै कारण मिटरव्याजी मौलाएको र यसलाई नियन्त्रण गर्न सरकार दृढतापूर्वक लागीपरेको उनको भनाई छ । ५ हजार भन्दा बढी पिडितहरुलाई अहिलेसम्म न्याय दिलाईसकेको बताउँदै सुशासन स्थापनामा सरकारले अभियान नै बनाएको गृहमन्त्री श्रेष्ठले बताए ।
अहिले मिटरव्याजी पीडितहरुले गरेको आन्दोलनलाई संकेत गर्दै उनले आन्दोलनले सरकारलाई बल मिलेतापानी गलत ढंगले त्यसलाई प्रयोग गर्न नहुने सुझाए । विभिन्न तरिकाले जालसाँजी गरी राज्यलाई ठग्नेविरुद्ध सरकाले कारबाही अगाडि बढाएको र यहि प्रक्रियाअन्तर्गत बाँसबारी छालाजुत्तामा सग्लनहरुको छानबिन भइरहेको गृहमन्त्री श्रेष्ठको भनाइ छ ।




