काठमाडौं- आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले नेदरल्याण्ड्सलाई फराकिलो अन्तरले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको हो।
१३८ रनको लक्ष्य नेपालले १५.२ ओभरमै १ विकेट क्षतिमा पूरा गर्यो। लिग २ क्रिकेटको पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा भने धमाकेदार जित निकालेको हो ।
नेपालको जितमा आसिफ शेख र अनिल साहले विष्फोटक ब्याटिङ गरे । अनिलले ३६ बलमा अविजित ५७ र आसिफले ४५ बलमा अविजित ५४ रन बनाए।
कुशल भूर्तेल ११ बलमा २८ रन बनाएर आउट भएका थिए । उनले आसिफसँग मिलेर विष्फोटक सुरुवात गरेका थिए । भूर्तेल आउट भएपछि आसिफ र अनिलले त्यसलाई कायमै राखे ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रन बनाउँदा अलआउट भएको थियो।
नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवर्ड्सले ३३ र बास डे लीडेले २७ रन जोडे ।
नेपालका लागि कुशल भूर्तेलले ४, ललित राजवंशीले २ तथा कप्तान रोहित कुमार पौडेल र सोमपाल कामीले १–१ विकेट लिए।
जितसँगै नेपाल लिग २ को अंकतालिकामा शीर्ष स्थानमा पुगेको छ ।




