महोत्तरी - महोत्तरीको औरही नगरपालिका–६ स्थित श्री माध्यमिक विद्यालय बैरियामा विषयगत शिक्षक अभावका कारण विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। कक्षा ८ देखि १० सम्म अंग्रेजी, विज्ञान र सामाजिक विषयको पढाइ छ महिनादेखि नहुँदा आइतबार विद्यार्थीहरूले आन्दोलन गरेका हुन्।
आन्दोलनरत विद्यार्थीहरूले विद्यालयको कार्यालयमा तालाबन्दी गर्नुका साथै औरही नगरपालिकाको कार्यालय घेराउ गरेका थिए। नगरपालिकाको कार्यालयमा पुगेका विद्यार्थीहरूले नगर प्रमुख, उपप्रमुख तथा नगर शिक्षा शाखाका पदाधिकारीसमक्ष आफ्ना मागहरू राखेका थिए।

कक्षा १० मा अध्ययनरत विद्यार्थीका अनुसार विगत छ महिनादेखि अंग्रेजी, विज्ञान र सामाजिक विषयका शिक्षक नहुँदा पठनपाठन ठप्प भएको छ। शिक्षकको माग गर्दै कक्षा ८ देखि १० सम्मका करिब २५–३० जना विद्यार्थी बैरियाबाट पैदलै औरही नगरपालिकाको कार्यालयसम्म पुगेका थिए।
लामो समयदेखि वडाध्यक्ष र विद्यालयका प्रधानाध्यापकसमक्ष विषयगत शिक्षकको माग गर्दा पनि चासो नदिइएको भन्दै बाध्य भएर तालाबन्दी र आन्दोलन गर्नुपरेको विद्यार्थीहरूको भनाइ छ। एसईई परीक्षा अढाई महिना मात्र बाँकी रहँदासमेत पठनपाठन हुन नसकेको उनीहरूको गुनासो छ।

विद्यार्थीहरूले तीन बुँदे माग अघि सारेका छन्। उनीहरूले प्राध्यापक शत्रुधन यादवको सरुवा र शिक्षक महेश ठाकुर लाई कारबाही गर्नुपर्ने माग गरेका छन्। साथै विद्यालयमा छात्राहरूले निःशुल्क सेनेटरी प्याड पाउनुपर्ने व्यवस्था कार्यान्वयन नभएको गुनासो गरेका छन्। केही शिक्षकले गलत तरिकाले बोल्ने र दुर्व्यवहार गर्ने गरेको आरोप पनि छात्राहरूले लगाएका छन्।

आन्दोलनरत विद्यार्थीहरूसँग नगरपालिकाको शिक्षा शाखा संयोजक धन बहादुर राई र वडा अध्यक्ष सुशील चौधरीले छलफल गरी गुनासो सुनेका थिए। सो अवसरमा शिक्षा शाखा संयोजकले १५ दिनभित्र शिक्षक अभावको समस्या समाधान गरिने प्रतिबद्धता जनाउँदै विद्यार्थीहरूलाई घर फर्किन आग्रह गरेका थिए।




