काठमाडौं । सरकारले आजदेखि दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्दैछ । दादुरा–रुवेला संक्रमणको जोखिम न्युनीकरणका लागि खोप अभियान सञ्चालन गर्न लागेको हो ।
आजदेखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार तीन सय ५ बालबालिकालाई खोप लगाइने छ ।
काठमाडौंमा एक हजार ६ सय ७० खोप केन्द्र तोकिएका छन् । बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ ।
भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा भने ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने छ । काठमाडौँ दादुरा–रुवेलाको अतिसङ्क्रमित जिल्ला हो ।
गत वर्ष काठमाडौँ जिल्लामा दादुरा–रुवेला फैलिँदा दुई सय २५ जना सङ्क्रमित र एकजनाको मृत्यु भएको थियो । गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको थियो ।
सरकारले खोप लगाउन आग्रह गर्दै खोपकेन्द्रमा आफ्ना बालबालिकालाई लैजान अभिभावकलाई अनुरोध गरेको छ ।


