
जनकपुरधाम- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रचण्ड नेतृत्वको सरकारको भविष्य दुईवटा संघिय ऐनमा निर्भर रहेको बताएका छन् ।
जनकपुरधाममा मधेश सरकारको मधेश प्रज्ञा प्रतिष्ठान कार्यालयको शुभारम्भ गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका यादवले संघिय निजामती ऐन र प्रहरी समायोजन ऐन तत्काल नै पारित गर्नु पर्ने बताए । उनले यी दुई ऐन पारीत गर्न नसक्ने संघियताको जगमा बनेको वर्तमान सरकार पनि फेल हुने बताए ।
यादवले भने, “प्रदेश सरकारको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र स्रोत साधन नहुँदा चाहे अनुसार काम गर्न सकेका छैनन्। एउटा आर्मीको गार्ड लिएर घुम्दैमा सरकार हुँदैन । आफ्नो प्रहरी प्रशासन, कर्मचारी, कानुन, अदालत र स्रोत चाहिन्छ।”
उनले संघीयता र लोकतन्त्रको विकल्प एकात्मक प्रणाली हुन नसक्ने बताउँदै यादवले सङ्घीयता मधेशी समुदाय सहित पछाडि परेका वर्गको भविष्यसँग गाँसिएकाले यसको रक्षाको विकल्प नरहेको बताए ।

अझै पनि खस शासकहरूले सङ्घीयता नचाहेको चर्चा गर्दै मुलुकलाई एकात्मक प्रणालीमा लग्न खोजेको आरोप लगाए । त्यस्तो अवस्था आउन नदिइने उनले बताए।
यादवले भने, “सङ्घीयताको विकल्प एकात्मक प्रणाली हुँदैन, सङ्घीयतालाई समाप्त पार्न खोज्नेहरू आफै समाप्त भएर जानेछन् ।”
अध्यक्ष यादवले नेपालमा सात वटा प्रदेशमध्ये पहिचानमा आधारित र सङ्घीयताको जननी प्रदेश मधेश मात्र भएकाले मधेश प्रदेशले विगतका कमी कमजोरी सुधार गरी अघि बढ्नु पर्ने बताए । उनले भने, “हामी चुक्नु हुँदैन । हामी चुक्यौँ भने सङ्घीयता र गणतन्त्र दुवै धरापमा पर्छ ।”
कार्यक्रममा मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले निर्वतमान मधेश सरकारले बनाएको आयोग र प्रतिष्ठानहरु कमाई खाने भाँडो मात्र सावित भइरहेको बताएका छन् ।
उनले प्रतिष्ठान र आयोगहरु बने पनि काम गर्न नसकेको र तलव भत्ता मात्र पकाउने काम भइरहेको दाबि गरे ।
प्रतिष्ठानका अध्यक्ष रामभरोष कापडिको अध्यक्षतामा भएको कार्यक्रममा समाजिक विकास मन्त्री सुरिता साह, अर्थ मन्त्री संजय कुमार यादव, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती डा. रामकेवल साह, समाजिक विकास मन्त्रालका सचिव, मधेश सरकारका मुख्यन्यायधिवक्ता विरेन्द्र ठाकुर, प्रष्ठिानका सदस्यद्वय गोपाल ठाकुर र दिनेश यादव सहितको उपस्थिती थियो ।