जनकपुरधाम ।मधेश प्रदेशका मुख्यमन्त्रीका दाबेदार मानिएका नेताहरु सकसमा छन् ।
जनता समाजवादी पार्टी(जसपा)बाट मुख्यमन्त्रीका दाबेदार सरोज कुमार राय यादवको स्थिति बलियो देखिएको छ । उनी बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को ख बाट जसपाका उम्मेदवार छन् ।
मधेश प्रदेशका सभामुख रहेका यादवले नै पहिचान सहितको मधेश प्रदेश नामकरण र जनकपुरधामलाई स्थायी राजाधनी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
जसपाले औपचारिक घोषणा नगरे पनि प्रदेशमा सरकारको नेतृत्व गर्ने अवसर पाए मुख्यमन्त्री रायलाई नै बनाउने पक्कापक्की रहेको छ । हुनत मुख्यमन्त्रीको दाबी गर्दै सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को ख बाट जसपाका उम्मेदवार रहेका मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र साहले पनि दाबी गरेका छन् ।तर उनलाई चुनाव जित्न सकस छ ।
त्यसैगरी कांग्रेसबाट मुख्यमन्त्रीका दाबेदार मधेश प्रदेशका सभापति कृष्णा यादव पनि सकसमा छन् । उनी रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को ख बाट सत्तारुढ गठबन्धनका उम्मेदवार यादवलाई एमाले जसपा गठबन्धनका उम्मेदवार मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले कडा टक्कर दिइरहेका छन् ।
यादवद्वयबीचको कडा प्रतिस्पर्धामा बाजी कसले मार्ने यकिन गर्न सहज छैन् ।तर सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) प्रदेश सभाका उम्मेदवार जितेन्द्र सोनलको स्थिति सुदृढ देखिएको छ ।लोसपाबाट उनी पनि मुख्यमन्त्रीका उम्मेदवार रहेको दाबी गरेका छन् ।
हाल सम्म एमाले, माओवादी र नेकपा समाजवादीबाट मुख्यमन्त्रीका लागि दाबी गरिएको छैन् ।सत्तारुढ गठबन्धनले मधेश प्रदेशमा सरकार बनाए कांग्रेसको मुख्यमन्त्री हुने र एमाले जसपा गठबन्धनले सरकार बनाउने अवस्थामा पुगे जसपाका मुख्यमन्त्री हुने संभावना बलियो छ ।