चर्चित गजल गायक पंकज उधासको ७२ वर्षको उमेरमा सोमबार निधन भएको छ ।
उनको निधनको जानकारी उनकी छोरी नायबले सामाजिक सञ्जालमा दिएकी छिन् । मिडिया रिपोर्टका अनुसार उधासले मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा सोमबार बिहान ११ बजे अन्तिम सास लिएका हुन् ।
गजल गायक उधास विगत केही दिनदेखि बिरामी थिए ।
उनले चर्चित गजल ‘चिठी आयी है’बाट निकै चर्चा पाएका थिए । साथै, उनी सन् २००६ मा पद्मश्री पुरस्कारबाट सम्मानित भएका थिए ।
उधासको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो । उनी आफ्ना तीन दाजुभाइहरूमध्ये कान्छो थिए ।
उनका हजुरबुबा एक जमिन्दार र भावनगर राज्यका दीवान पनि थिए । उनका बुबा केशुभाई उधास सरकारी कर्मचारी थिए, उनलाई इसराज खेल्न निकै मन पर्थ्यो।
यही कारण उधास र उनका दुई दाजुभाइको सधैँ संगीतप्रति झुकाव थियो ।