
महोत्तरी - महोत्तरीको सम्सी गाउँपालिका - ६ निवासी ६० वर्षीय शेष हाजी जहुरको घरमा शनिवार मध्यराती अज्ञात नबाकधारीहरुको समूहले लुटपाट गरेको छ। मध्यराती करिव १२ बजे १० जनाको समूहमा रहेका नकाबधारीहरुले जहुरसंगै उनका छोरा २५ वर्षीय अतहरलाई टाउकोमा रडले प्रहार गरी घाइते बनाई कोठामा बन्द गरेर लुटपाट गरेको हो।
शेष हाजीका छोरी र नातिनीहरु समेत माइत आएकोमा उनीहरुलाई समेत घटनाबारे कसैलाई भने मारिदिने धम्की दिँदै नकाबधारी समूहले नियन्त्रणमा लिई लुटपाट गरेका छन्। पिडितको घरमा रहेको गरगहना र नगद सहित करिव १० लाख बराबरको धनमाल लुटपाट भएको पिडित शेष हाजीका छोरा अतहरले बताए। उनले नकाबधारीहरु राती अवेरसम्म लुटपाट गरेर भागेको बताए।
यता नकाबधारी समूह लुटपाट गरी भागेपछि स्थानीयहरुको सहयोगमा घाइतेहरुलाई गाउँ नजिकैको जानकी एकेडेमिक अस्पतालमा उपचारको लागि लगिएको छ। उनीहरुको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जयसवारले घटनाको जानकारी पाएलगतै घटनास्थल पुगेर प्रहरीले आवश्यक अनुसन्धान सुरु गरिसकेको बताए। उनले प्रहरीको टोली गम्भिर भएर अनुसन्धानमा जुटेको र चाँडै लुटेरा समूहको पहिचान हुने विश्वास व्यक्त गरे।