काठमाडौं- त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेदरल्याण्ड्सलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।
१२१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेट क्षतिमा पूरा गरेको थियो।
तेस्रो ओभरमा दुवै ओपनर गुमाएर धर्मराएको नेपाली इनिङ्स कप्तान रोहित कुमार पौडेल र गुल्सन झाले सम्हाले ।
पौडेलले ४६ र गुल्सनले ३८ रन बनाए । कुशल भूर्तेल १२ र आसिफ शेख ८ रनमा पेभेलियन फर्किएका थिए ।
नेदरल्याण्ड्सका लागि भिभियन किङ्माले ३ विकेट लिए।
टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्स १९.३ ओभरमा १२० रन बनाएर अलआउट भयो।
नेदरल्याण्ड्सलाई सस्तैमा प्याक गर्न प्रतिस जिसीले ३ विकेट लिए । प्लेयर अफ द म्याच भएका उनले नवौं ओभरमा २ विकेट लिएका थिए ।
करण केसीले पहिलो ओभरमा नै २ विकेट लिएपछि डच टोली दबाबमा आएको थियो । उनले माइकल लेभिट र साईब्राण्ड एन्गलब्रेचलाई चौथो र छैठौं बलमा आउट गरे। कुशल मल्लले २ तथा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए।
भोलि हुने नेदरल्याण्ड्स र नामिबियाबीचको खेलपछि फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । नामिबियाले फाइनलमा पुग्न ठूलो अन्तरले जित हासिल गर्नुपर्ने छ । त्यस्तो अवस्थामा नेदरल्याण्ड्स नेट रनरेटका आधारमा बाहिरिने छ ।
४ खेलमध्ये २ मा जित हासिल गरेको नेपाल ४ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ। ३ खेलमध्ये २ मा जित हासिल गरेको नेदरल्याण्ड्स शीर्ष स्थानमा छ। केवल १ मा जित हासिल गरेको नामिबिया भने पुछारमा छ।
०.३०९ नेटरनरेटसहित नेदरल्याण्ड्स शीर्ष स्थानमा छ। ०.२९३ नेटरनरेटसहित नेपाल दोस्रो स्थानमा छ। माइन्स ०.७०० नेटरनरेटसहित नामिबिया पुछारमा छ। नेट रनरेटको आधारमा पनि नामिबियाले आइतबार नेदरल्याण्ड्सलाई फराकिलो अन्तरले हराउन सकेमात्र फाइनल पुग्ने गणतीय सम्भावना छ।







