काठमाडौं - निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिका रूपमा मान्यता दिएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ अनुसार दलको विवरण अद्यावधिक गर्दै आयोगले थापा नेतृत्वको पक्षलाई आधिकारिक मान्यता दिने निर्णय गरेको हो ।
आयोग उच्च स्रोतका अनुसार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुनशमशेर राणा थापा पक्षमा उभिएका थिए भने आयुक्त जानकी तुलाधारले फरक मत राखेकी थिइन् । ‘उहाँको मत संविधान र कानुनअनुसार अघि बढ्नुपर्छ भन्ने थियो,’ स्रोतले जनाएको छ ।थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिँदा आयोगले नेपाली कांग्रेसको विधानलाई मुख्य आधार बनाएको बताइएको छ । स्रोतका अनुसार दलको विधानको धारा १७(२) अनुसार विशेष महाधिवेशनबाट अद्यावधिक गर्न पेश गरिएका कागजात तथा प्रमाणलाई आधार मानेर निर्णय गरिएको हो ।
पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा निर्वाचित गरेको थियो । सोही निर्णयअनुसार सभापति थापासहितका नवनिर्वाचित पदाधिकारीहरूले बिहीबार निर्वाचन आयोगमा विवरण अद्यावधिकका लागि निवेदन दिएका थिए ।
यता, पूर्णबहादुर खड्का पक्षका नेताहरूले भने शुक्रबार बिहान आयोगमा छुट्टै निवेदन दर्ता गराउँदै आफूहरू आधिकारिक भएको दाबी गरेका थिए । दुवै पक्षको दाबी आएपछि आयोगले नवनिर्वाचित पदाधिकारीहरूलाई छलफलका लागि बोलाएको थियो ।
दुवै पक्षको दाबी र प्रस्तुत कागजातहरूको अध्ययनपछि आयोगले गगन थापा नेतृत्वको पक्षलाई आधिकारिक नेपाली कांग्रेसको मान्यता दिएको हो । यससँगै अब नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ र चारतारे झण्डा थापा नेतृत्वको पक्षकै हुने भएको छ ।




