महोत्तरी– महोत्तरीको औरही नगरपालिका–७, भोइलस्थित प्रसिद्ध धार्मिक स्थल सोनासती महारानी (सोनामाई) मन्दिरमा बडादसैँको सातौँ दिन शनिवार परम्परागत विधिअनुसार फूलपाती भित्र्याइएको छ। दसैँको महत्त्वपूर्ण धार्मिक अनुष्ठानका रूपमा रहेको फूलपाती भित्र्याउने परम्पराले मन्दिर परिसरमा उत्सवमय वातावरण सिर्जना गरेको छ।

दुर्गा पूजाको विशेष महत्त्व बोकेको फूलपातीका अवसरमा श्रद्धालुहरूले माता सोनामाईको दर्शन तथा पूजाअर्चना गरेका छन्। घटस्थापनादेखि विजयादशमीसम्म विशेष पूजाआजा हुने यस मन्दिरमा फूलपाती भित्र्याउने परम्पराले दसैँको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई थप उजागर गरेको छ।




मिथिला क्षेत्रको प्रसिद्ध धार्मिक स्थलका रूपमा परिचित सोनामाई मन्दिरमा दसैँको चौथीदेखि सप्तमीसम्म विभिन्न स्थानबाट फूलपाती ल्याएर भित्र्याउने परम्परा रहिआएको छ। फूलपाती भित्र्याउने दिनदेखि मन्दिरमा दर्शनार्थीको चहलपहल अझ बढ्ने गर्दछ।
यस मन्दिरमा महाअष्टमीका दिन मातालाई घिउ र सिन्दूरले विशेष शृङ्गार गर्नुका साथै बोकाको बलि दिने परम्परा छ। महानवमीका दिन राँगाको बलि दिइन्छ भने विजयादशमीका दिन परम्परागत बाजागाजासहित मन्दिरबाट पुजारीको घरमा डाला लगिएपछि दसैँ मेलाको औपचारिक समापन हुने गर्दछ।

यसैबीच, दसैँको चौथीदेखि मन्दिर परिसरमा मिथिलाञ्चलमै चर्चित ‘भूत मेला’ सुरु भएको छ। मेलामा भूतप्रेत, पिशाच तथा दुष्ट आत्माको प्रभावबाट पीडित भएको ठानिएका व्यक्तिहरू परम्परागत तथा तान्त्रिक विधिबाट उपचार गराउने विश्वासका साथ आउने गर्दछन्। मन्त्र, तन्त्र, जन्तर तथा अन्य परम्परागत विधिबाट उपचार गरिने स्थानीय जनविश्वास छ।
मन्दिरका पुजारी केदार झाका अनुसार सन्तान प्राप्ति तथा अन्य मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ बर्सेनि हजारौँ श्रद्धालु मन्दिरमा भाकल गर्न आउने गर्दछन्। भाकल पूरा भएपछि उनीहरूले पूजाअर्चना तथा परम्पराअनुसार बलि दिने गरेका छन्।
सदरमुकाम जलेश्वरबाट करिब २३ किलोमिटर उत्तर र बर्दिबासबाट करिब १७ किलोमिटर दक्षिणमा जलेश्वर–बर्दिबास सडकखण्ड नजिकै अवस्थित सोनामाई मन्दिरमा दसैँका अवसरमा हजारौँ श्रद्धालु पुग्ने गर्दछन्। फूलपाती, विशेष पूजाअर्चना र प्रसिद्ध भूत मेलाका कारण यस मन्दिरमा दसैँको रौनक थपिने गरेको छ।




