
जनकपुरधाम- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आगामी निर्वाचनमा एमालेलाई जनताले बहुमत प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
शनिबार मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरको क्षीरेश्वर जनता उच्च माविको खेल मैदानमा आयोजित प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापन समारोहमा बोल्दै एमाले उपाध्यक्ष पौडेलले विगतमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले मधेशको विकास र समृद्धिका लागि विशेष प्राथमिकताका साथ काम गरेको बताए ।
एमालेले आफ्नो नेतृत्वको सरकारका पालामा मधेशको विकासका लागि काम गरेका कारण जनताले एमालेलाई मधेश प्रदेशमा पहिलो पार्टी बनाएको बताउँदै उनले मधेशको समृद्धि र विकासका लागि यहाँका जनताले एमालेलाई मत दिन आवश्यक रहेको बताए ।
उपाध्यक्ष पौडेलेले भने, “अहिले गठबन्धन सरकारको पालामा विकास निर्माणको कामले गति लिन सकेको छैन ।”
पौडेलले वर्तमान सत्ता गठबन्धन आफैँ भित्रका समस्या र अन्तर्विरोधको भुमरीमा फसिरहेको भन्दै कुनै पनि बेला टुट्न सक्ने दाबि समेत गरे।
पौडेलले सत्ता गठबन्धन आफ्नै अन्तर्विरोधका कारण जुनसुकै बेला टुट्न र फुट्न सक्ने टिप्पणी गरे । गठबन्धन भित्रको तमासा आफूहरूले हेरिरहेको भन्दै पौडेलले भने, ‘यो गठबन्धन आफैँ भित्रका समस्या र अन्तर्विरोधहरूले चर्मराइरहेको छ,कुनै पनि बेला यो टुट्न सक्छ ,फुट्न सक्छ ।’
तर,उनले गठबन्धन फुटाउन एमालेले चासो नदिएको जिकिर गरे । सत्ता गठबन्धन फुटिहाले एमालेले काँध थाप्छ कि थाप्दैन भन्ने सञ्चारकर्मीको प्रश्नमा पौडेलले भने, ‘के को काँध थाप्नु ? काँध थाप्ने/नथाप्ने प्रश्नै होइन नि । पहिले गठबन्धन कुन रूपमा अगाडि बढ्छ हेरौँ न,’ पौडेलले भने ।
पौडेलले देशको विकासको बाधक नै अहिले गठबन्धन बनेको टिप्पणी गरे । ‘यो देशको अग्रगति र प्रगतिको लागि यो गठबन्धन प्रमुख बाधक बनेर उभिएको छ । त्यसैले जनताले मुलुकको शासनको बागडोर एमालेलाई सुम्पिन चाहेका छन् ।” उनले ८४ को चुनाव पछि तीनै तहको सरकार एमालेको हुने दाबी गरे।
पार्टीको झुलाघाट-चिवाभञ्ज्याङ यात्राको क्रममा जनताले भोगेका सबै समस्याको समाधान गर्न पनि मुलुकको शासन सत्ता एमालेले लिनुपर्ने र त्यसको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुपर्ने आम जनताको चाहना रहेको आफूहरूले पाएको उपाध्यक्ष पौडेलको दाबी थियो ।
उनले आम जनताले आफूहरूको यात्राको क्रममा एमालेप्रति असाधारण आशा, भरोसा र विश्वास गरेको जिकिर गर्दै त्यसलाई महत्वपूणर् पुँजीको रूपमा ग्रहण गर्दै पार्टी अघि बढेको बताए ।
देशलाई सुख, शान्ति र समृद्धिको यात्रामा अघि बढाउन एमालेको विकल्प नभएको पनि यात्राको क्रममा अनुभूति भएको उपाध्यक्ष पौडेलको भनाई थियो । उनले पार्टी अध्यक्ष ओलीप्रति देशभरका सबै उमेर समूहका मानिसहरूको असाधारण आकर्षण रहेको पनि दाबि गरे ।
उहाँले एमालेमा अन्य पार्टीबाट प्रवेश गर्नेको लहर चलेकाले एमालेको मिसन ८४ लाई ध्यानमा राखेर कामकाज गर्न नेता कार्यकर्तालाई आग्रह गरे ।