
एजेन्सी- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्सले विजयी सुरुवात गरेको छ ।
१७ औं संस्करणको पहिलो खेलमा चेन्नईले रोयल च्यालेञ्जर बैंग्लुरुलाई ६ विकेटले हरायो ।
जितका लागि एक सय ७४ रनको लक्ष्य पाएको चेन्नईले १८ ओभर चार बलमा चार विकेट गुमाउँदै भेट्टायो ।
चेन्नईको जितमा ओपनरद्वय रुतुराज गायक्वाडले १५ र रचिन रवीन्द्रले ३७ रन बनाए । त्यस्तै अजिङ्क्य रहाणेले २७, ड्याल मिचेलले २२ रन जोडे । शिवम दुवे ३४ र रविन्द्र जडेजाले २५ रनमा अविजित रहे । बैंग्लुरुका क्यामरुन ग्रीनले दुई तथा यश दयाल र कर्ण शर्माले समान एक विकेट लिए ।
त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ गरेको बैंग्लुरुले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ७३ रन बनाएको थियो ।
आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । नेपाली समयअनुसार दिउँसो पौने ४ बजे हुने पहिलो खेल पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्सको छ ।
दोस्रो खेलमा राति पौने ८ बजे कोलकता नाइट राइडर्स र सनराइज हैदराबाद खेल्दैछन् ।