
महोत्तरी - राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत महोत्तरीको औरही नगरपालिकामा आगामी बैशाख १६ गते देखि २ हप्ता सम्म हात्तीपाइले विरुद्धको औषधि खुवाइने भएको छ । राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत बैशाख १६ गतदेखि आम औषधि सेवन अभियान चलाउन लागिएको औरही नगरपालिकाको स्वस्थ शाखा प्रमुख चन्द्र भुसन ठाकुरले जानकारी दिए । उनका अनुसार कुनै लक्षण नदेखिएपनि शरीरमा हात्तीपाईल रोगको परजीवि हुन सक्ने भन्दै आम नागरिकलाई औषधी सेवन गर्न गराउन अभियान सञ्चालन गर्न लागिएको हो ।

रोग लागि सकेपछि पूर्ण रुपमा निको हुन नसक्ने भएकाले समयमै औषधी खाएमा शरीरमा हात्तीपाईलेको परजीवि नष्ट हुने र रोग नलाग्ने भएकाले आम रुपमा औषधी सेवन गरी हात्तीपाईले रोग निवारण अभियानका लागि नगरपालिका तयारी तीव्र पारेको छ । विहिवार औरही नगरपालिकाको सभा हालमा आयोजित आम औषधी सेवन अभियान सम्बन्धी नगरस्तरीय योजना तथा बहुनिकाय गोष्ठी औरही नगर प्रमुख प्रदिप कुमार खड्काको अध्यक्षतामा सुरु भएको थियो। नगरस्तरीय योजना तथा बहुनिकाय गोष्ठीमा स्वस्थ शाखा प्रमुख ठाकुरले भने हात्तीपाईले रोगविरुद्ध चलाउने औषधीहरु अत्यन्त प्रभावकारी र सुरक्षित रहेको जानकारी दिए ।

उनले दुईवर्ष भन्दामुनिका बच्चा, गर्भवती महिला, सुत्केरी भएको एक हप्ताभित्र र अशक्त भई बेडमा रहेका बाहेक सबै आम नागरिकलाई हात्तीपाईले रोग विरुद्धका औषधी खानैपर्ने बताए । यसपटक हात्तीपाईले रोग निवारणका लागि अल्वेण्डाजोल, ईभरमेक्टिन र डाईथालकार्वामाइजिन गरी ३ प्रकारको औषधी खुवाउने उनले बताए ।

औरही नगरपालिका बैशाख १६ गतेदेखि नगरपालिकाको प्रत्येक वडामा अभियान चलाउने र एउटा वडामा ५ वटा टिम तथा एउटा टिममा १८ जनालाई औषधी खुवाउने अभियानका लागि परिचालन गरिने स्वस्थ शाखा प्रमुख ठाकुरले उल्लेख गरे । औरही नगरपालिकाभित्र हालसम्म कुनै पनि हात्तीपाईले रोगका विरामी फेला नपरेको पनि उनले स्पष्ट पारे ।

विगतका अभियानहरुमा औषधी लिने र पछि खान्छु भन्दै नखाने तथा फालिदिने भएपछि यसपटक स्वास्थ्यकर्मीका टोलीले आफ्नै अगाडी औषधी खुवाउने भएको तयारी गरिएको छ ।


