
महोत्तरी - महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले पशुपालक किसानहरुलाई डाले घासको बिउ वितरण गरेको छ।
डाले घासको बिउ वितरण कार्यक्रमको शुभारम्भ मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले गर्नुभयो ।
त्यसै क्रममा बोल्नुहुँदै प्रमुख मण्डलले यो डाले घासको बिउले उत्पादन हुने घास पशुलाई अत्यधिक पौष्टिकता पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मटिहानी नगरपालिका र हेफर प्रोजेक्ट नेपालको सहयोगमा सञ्चालित " कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना " अन्तर्गत आज उक्त परियोजनाले गठन गरेको विभिन्न महिला समूहका जम्मा २०० जना महिलालाई डाले घास (५५० ग्राम मेनदोला, १२० ग्राम भटमासे र १५० ग्राम बकाइनो ) वितरण गरेको कुरा उक्त परियोजनाका परियोजना संयोजक महेश राय यादवले बताउनुभयो ।

उक्त कार्यक्रममा वडा नं ३, ६ र ७ का वडा अध्यक्षहरू क्रमश: नाजिर मिया, कलीम अंसारी र जितनारायण माझी, हेफर प्रोजेक्टका बरिष्ट कार्यक्रम अधिकृत मिथिलेश झा, कृषि, पशु शाखाका शाखा प्रमुखहरु, हेफर प्रोजेक्टका कर्मचारीहरू र विभिन्न महिला समूहका महिलाहरू लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो ।