जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई युवाहरूको साझा मागपत्र हस्तान्तरण गरिएको छ। सोमबार जनकपुरधाममा मुख्यमन्त्रीसँग भेट गर्दै युवाहरूको संस्था कायापलटद्वारा मागपत्र बुझाइएको हो । जेन–जी आन्दोलनपछि युवाहरूबीच गरिएको छलफल र बहसबाट संकलित मागहरू प्रदेश सरकारलाई कार्यान्वयन गर्नका लागि सुझाब स्वरुप बुझाएका हुन् ।
युवाका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको कायापलटले मुख्यमन्त्रीसँग भेटका क्रममा युवाका मागहरू नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्ने विषय उठाएको थियाे । साथै, युवाहरूका लागि राज्यले आवश्यकता र अपेक्षाअनुसार कार्यक्रम तथा नीतिहरू निर्माण गरी कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका थिए।



कायापलटका संस्थापक तथा कार्यकारी निर्देशक दिवाकर उप्रेतीले युवाहरूले राज्यबाट ठूलो संरचनात्मक परिवर्तनभन्दा पनि मौलिक अधिकार र आधारभूत आवश्यकताहरूको सुनिश्चितता अपेक्षा गरेको बताए। उनका अनुसार युवाहरूले शिक्षामा प्रविधिमैत्री विकास, सार्वजनिक सेवा प्रवाहलाई थप छरितो र प्रभावकारी बनाउने, तथा सेवाहरूलाई प्रविधिसँग जोड्ने विषयमा विशेष जोड दिएका छन्।
यसैगरी, युवाहरूका मागहरू एकीकृत गर्न कायापलटले साझेदारी युवा सञ्जालकाे निर्माणसँगै मधेश प्रदेशका आठै जिल्लामा प्रदेश तथा जिल्ला स्तरमा छलफल र कार्यशाला आयोजना गरेको जनाएको छ। करिब तीन महिनाभन्दा बढी समय युवाहरूसँग प्रत्यक्ष संवाद र सहकार्य गर्दै मागपत्र तयार गरिएको उप्रेतीले बताए ।




