
जनकपुरधाम- प्रतिनिधि र प्रदेश सभाको मतदान सम्पन्न भएको २४ घण्टा भन्दा बढी बितिसक्दा पनि मधेश प्रदेशको अधिकांश निर्वाचन क्षेत्रको मतगणना अबेर राति मात्र सुरु भएको छ ।
मधेश प्रदेशको सर्वाधिक चर्चित निर्वाचन क्षेत्र मध्येको सप्तरी जिल्लाको क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव मध्यरातिसम्मको मतगणनाको परिणाम अनुसार पछाडि छन् । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सी के राउतले यादवलाई ३ हजार भन्दा बढी मतले पछाडि पारेका छन् । सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुर निकै पछाडि छन् । त्यस क्षेत्रमा पर्ने स्थानीय तहको निर्वाचनमा गठबन्धनको झण्डै ३५ हजार मत रहेको थियो ।
यादव र ठाकुरबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । तर मतगणनाको प्रारम्भदेखि बज्न थालेको हरनको ध्वनि समयसँगै तेज हुन थालेको छ । ९५ हजार ३ सय ९४ मतदाता रहेकोमा कुल ६४ हजार ५ सय ६० मत खसेको थियो । धेरै मत गणना गर्न बाँकी नै रहेकाले मत परिणामको निष्कर्ष निकाल्न कठिन रहेपनि जिततर्फ राउत अग्रसर छन् ।
त्यसैगरी सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई माओवादी केन्द्रका उम्मेदवार महेन्द्र यादवले पछाडि पारेका छन् । प्रारम्भिक चरणमा पछाडि परेका महतोले जितको आश छाडेका छैनन् । उनी २०७४ सालको चुनावमा धनुषाको ३ बाट निर्वाचित भएपछि यस पटक सर्लाहीको २ बाट चुनाव लडेका हुन् । तर माओवादी केन्द्रका नेता डा.एनके यादवले महतो भारी मतले पराजित हुने दाबी गरेका छन् । त्यस्तै सर्लाही क्षेत्र नं. ४ मा स्वतन्त्र उम्मेदवार अमरेश सिंहले अग्रता कायम गरेका छन् ।
रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनबाट नेकपा एसका उम्मेदवार माधवकुमार नेपाललाई एमालेका उम्मेदवार अजय गुप्ताले कडा चुनौती दिइरहेका छन् । नेपालको मध्यराति सम्मको अग्रता १ हजार कटेको छैन् । क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साहले प्रारम्भिक मतगणनामा १ हजार बढी मतको अग्रता लिएका छन् । साहलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको थियो । उनी एमालेको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । जितप्रति साह भने पूर्ण विश्वस्त देखिएका छैनन् ।
धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार जुली महतोले अग्रता लिएकी छन् । जनकपुरधाम उपमहानगर पालिकाको वडा नम्बर १५ र २० को मतगणना सम्पन्न भएपछिको उनको अग्रता कायमै छ । लोसपाका उम्मेदवार अनिल कुमार झा निरन्तर पछाडि भइरहेका छन् । रौतहट जिल्लामा चुनाव जित्ने संभावना नदेखेर धनुषाको ३ बाट उम्मेदवारी दिएका झाका लागि राजेन्द्र महतो जस्तो सहज अवस्था रहेको थिएन् ।
पर्सा जिल्लाको सर्वाधिक चर्चित निर्वाचन क्षेत्र नम्बर १ बाट जसपाका निवर्तमान सांसद प्रदीप यादवले विपक्षी स्वतन्त्र उम्मेदवार अजय द्विवेदीसितको मतान्तरलाई फराकिलो बनाएका छन् । सत्तारुढ गठबन्धनबाट लोसपाका उम्मेदवार लक्ष्मण लाल कर्ण निकै पछाडि परेका छन् । प्रारम्भिक मतगणनामा यादव २ हजारको नजिक पुग्दा कर्णले सय पनि कटाउन सकेका छैनन् । मधेश प्रदेशको प्रतिनिधि सभा तर्फ नेपाली कांग्रेसले अग्रता लिएको छ । एमाले दोस्रो स्थानमा देखिएको छ । मधेशी दलहरुको स्थिति अत्यन्त कमजोर रहेको छ । तर प्रदेश सभामा मधेशी दलको अवस्थामा सुधार आउने संभावना रहेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विपक्षी नेपाली कांग्रेसका उम्मेदवार रामनारायण कुर्मी भन्दा अग्रता लिएका छन् । पर्साको क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका उम्मेदवार यादव अगाडि छन् । राउत १ को ‘ख’ बाट चुनाव लडेका हुन् । प्रदेशको ८ जिल्लामा ३२ प्रतिनिधि सभा र ६४ प्रदेश सभा सदस्यका लागि चुनाव भएको हो ।