
काठमाडौं - १७ औँ गणतन्त्र दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । गणतन्त्र दिवसका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सुरु भएको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिएको छ ।
राज्यको सम्पूर्ण शक्ति जनतामा निहीत हुनेगरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनको खुशियालीका रुपमा गणतन्त्र दिवस मनाउन थालिएको हो ।
विंस २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ गते आफैँले विघटन गरेको संसद् पुनःस्थापना गरेका थिए । आन्दोलनरत दलहरुको दबाब थेग्न नसकेपछि दलहरुको चाहना बमोजिम उनले संसद पुनःस्थापना गरेका थिए ।

तत्कालिन विद्रोही शक्ति माओवादीको पनि समर्थनमा सञ्चालित २१ दिन लामो जनआन्दोलन, ससस्त्र युद्ध र जनआन्दोलनको बलमा हजारौँको बलिदानी र लाखौँ नागरिक सडकमा उत्रिएपछि संविधान सभा निर्वाचन गर्ने मार्गचित्र अनुसार संसद पुनस्र्थापना गर्न ज्ञानेन्द्र बाध्य भएका थिए ।
गणतन्त्र स्थापनाका लागि दोस्रो संयुक्त जनआन्दोलन नै गणतन्त्रका लागि आधार स्तम्भ बनेको थियो ।
विसं २०६४ साल चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गरेको थियो ।
पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पछि फेरि विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । सोही संविधान अनुसार अहिले संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरिरहेका छन् ।
प्रणाली र पद्धती परिवर्तन भएको पनि डेढ दशक नाघिसकेको छ तर जनताको अवस्था भने फेरिन सकेको छैन ।
दलका नेताहरु विभिन्न अनियमितताका विषयमा मुछिन थालेपछि सर्वसाधारणमा भने असन्तुष्टि चुलिदो छ । नागरिकका अपेक्षा र असन्तुष्टिलाई सम्वोधन गर्दै दलहरु अगाडि बढ्न सकुन् गणतन्त्रको सबैलाई शुभकामना ।
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गए पनि सत्ताको नेतृत्वमा रहेका दलहरुले जनताको अपेक्षाअनुसार काम गर्न सकेका छैनन्।