
धनुषा- मधेस प्रदेशको राजधानी जनकपुरधाममा सामाजिक सुरक्षा कोषको कार्यालय उद्घाटन भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले शनिवार एक समारोहमा जनकपुरधामको रामानन्द चोकमा उक्त कार्यालय उद्घाटन गर्नुभएको हो।
कार्यालय उद्घाटन गर्दै मन्त्री अर्यालले सामाजिक सुरक्षा कोषको सञ्जाल विस्तारले रोजगारदाता तथा योगदानकर्ता श्रमिकहरूलाई सेवाका लागि थप सहज हुने बताउनुभयो।
उहाँले सामाजिक सुरक्षा योजनाको महत्व स्पष्ट पार्दै यो कार्यालय स्थापना भएसँगै कोषको सेवाबारे बुझ्न र आबद्ध हुन सहज हुने विश्वास व्यक्त गर्नुभयो। सामाजिक सुरक्षा कोषमा योगदान गरेको रकम कहाँ जान्छ ? योगदान गर्दा कस्तो कस्तो लाभ पाउन सकिन्छ ? भन्ने विषयमा मधेस प्रदेशका सेवाग्राहीलाई स्पष्ट जानकारी दिन कार्यालयका कर्मचारीलाई मन्त्री अर्यालले आग्रह गर्नुभयो।
योजनामा ढुक्कसँग सहभागी हुन सेवाग्राहीलाई मन्त्री अर्यालले अनुरोध गर्नुभयो ।
कोषका कार्यकारी निर्देशक कविराज अधिकारीका अनुसार यो कार्यालयबाट मधेस प्रदेशको धनुषा, सप्तरी, सिराहा र सर्लाही गरी चार जिल्लाका रोजगारदाता तथा श्रमिकहरूलाई सेवा लिन सहज हुनेछ ।
यी चार बाहेक अन्य जिल्लाका ‘रोजगारदाता तथा योगदानकर्ताले पनि यो कार्यालयबाट सेवा लिन सक्नुहुनेछ । चार जिल्ला सेवाग्राहीलाई सहज हुन्छ भन्ने हामीलाई लागेको हो,’ उहाँले भन्नुभयो ।