
एजेन्सी- लोकसभा निर्वाचनअन्तर्गत सात चरणमा सम्पन्न मतदानको मतगणना आजबाट सुरु हुँदै छ । नतिजा आज नै सार्वजनिक हुनेछ । देश अब केन्द्रमा कसले सरकार बनाउँछ भनेर जान्न निर्वाचन परिणामलाई उत्सुकतापूर्वक पर्खिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) केन्द्रमा लगातार तेस्रो कार्यकालको प्रतीक्षामा छ । अर्कोतर्फ कंग्रेस र दर्जनौँ अन्य गैरभाजपा दलहरू सम्मिलत विपक्ष गठबन्धन आइएनडिआइएले बहुमत ल्याउने दाबी गरेको छ । १९ अप्रिलमा सुरु भएको मतदान सातौँ चरणमा गरी शनिबार समाप्त भएको थियो ।
मोदीले ह्याट्रिक गर्ने प्रक्षेपण
निर्वाचनपछिका अधिकांश सर्वेक्षणले प्रधानमन्त्री नरेन्द्र मोदीको ह्याट्रिक जित हुने प्रक्षेपण गरेका छन् । अधिकांश ‘एक्जिट पोल’ले मोदीको भाजपा नेतृत्वको एनडिए विजयउन्मुख रहेको देखाएको छ ।
एक्जिट पोलले प्रधानमन्त्री नरेन्द्र मोदी ऐतिहासिक तेस्रो कार्यकालका लागि प्रधानमन्त्री हुने र एनडिए गठबन्धनले भारी बहुमत ल्याउने आकलन गरेका छन् । प्रधानमन्त्री मोदीले आफ्नो सरकारलाई पुनः निर्वाचित गर्न भारतीय जनताले कीर्तिमानी संख्यामा मतदान गरेको विषयमा आफू विश्वस्त रहेको बताउँदै आएका छन् । भारतसँंग गणना प्रक्रिया बलियो भएको र इलेक्ट्रोनिक मतदान मेसिनहरू प्रयोग गरी मतपत्रको छिटो गणना गर्न अनुमति दिइएको उनको भनाइ छ ।
६४ करोड २० लाख गरे मतदान
६ साता लामो भारतीय निर्वाचनमा ६४ करोड २० लाख भारतीय मतदाताले मतदान गरे । ठूलो संख्यामा भएको मतदानले विश्व कीर्तिमान बनाएको निर्वाचन आयोगले दाबी गरेको छ । कुल मतदातामध्ये लगभग आधा अर्थात् ३१ करोड २० लाख महिला मतदाताको सहभागिता छ । यसले भारतका मतदाताको अविश्वसनीय शक्तिलाई देखाएको मुख्य निर्वाचन आयुक्त राजीव कुमारको भनाइ छ । ९६ करोड ८० हजार योग्य मतदाताको तथ्यांकको आधारमा योग्य मतदाताको ६६.३ प्रतिशत मतदान भएको छ । तर, यो सन् २०१९ को निर्वाचनको तुलनामा थोरै कम रहेको बताइएको छ । मतदानमा केहीले एकाध स्थानमा उदासीनता, सनकीपनमाथि विश्वास गर्दै हिंसात्मक रूपमा प्रस्तुत हुन खोजे पनि निर्वाचनमा ‘हिंसाको कुनै ठूलो घटना नभएको’ प्रमुख निर्वाचन आयुक्त कुमारले बताए । मुख्य निर्वाचन आयुक्त राजीव कुमारले पछिल्लो आमचुनावको तुलनामा मतदानमा केही कमी आएको बताए ।
जेलबाटै लडाइँ जारी राख्ने केजरिवालको उद्घोष
यसैबीच राजधानी दिल्लीका मुख्यमन्त्री तथा भाजपा नेतृत्वको एनडिए गठबन्धनविरुद्ध प्रतिस्पर्धा गर्न गठन गरिएको विपक्षी आइएनडिआइएका पमुख नेता अरविन्द केजरिवाल निर्वाचनमा सहभागी भई कारागार फर्किएका छन् । दिल्लीको मदिरा नीति घोटालासँग जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा अन्तरिम जमानतको म्याद समाप्त भएपछि आइतबार उनी फेरि तिहाड जेल फर्किएका हुन् ।
केजरिवालले आत्मसमर्पण गर्नुअघि जेलबाट ‘लडाइँ’ जारी राख्ने प्रतिबद्धता गरेका छन् । ‘जब सत्ता तानाशाही बन्छ, तब जेल एक जिम्मेवारी बन्छ,’ केजरिवालले पुनः जेल जानुअघि भनेका छन् । केजरिवाललाई सर्वोच्च अदालतले मे १० मा लोकसभा चुनावको प्रचारका लागि अन्तरिम जमानत दिएको थियो र २ जुनमा तिहाड जेलमा आत्मसमर्पण गर्न भनिएको थियो । दिल्लीका मुख्यमन्त्रीले यसअघि अन्तरिम जमानतको म्याद थपका लागि सर्वोच्च अदालतमा अपिल गरेका थिए ।
सर्वेक्षणविपरीत आउनेछ नतिजा : सोनिया
कंग्रेस वरिष्ठ नेतृ सोनिया गान्धीले लोकसभा चुनावको नतिजा एक्जिट पोल प्रक्षेपणको पूर्ण रूपमा विपरीत हुने विपक्षी गठबन्धनले आशा गरेको बताएकी छिन् । कंग्रेस संसदीय दलकी अध्यक्षसमेत रहेकी सोनियाले भनिन्, ‘हामीले पर्खनुपर्छ, पर्खनुहोस् र हेर्नुपर्छ । चुनावी नतिजा एक्जिट पोलले भनेको भन्दा विपरीत हुनेमा हामी धेरै आशावादी छौँ ।’ त्यस्तै कंग्रेस नेता राहुल गान्धीले एक्जिट पोल प्रक्षेपणलाई प्रधानमन्त्री नरेन्द्र मोदीको ‘काल्पनिक सर्वेक्षण’ बताएका छन् । उनले विपक्षी गठबन्धनले २९५ सिटभन्दा बढी ल्याउने दाबी गरेका छन् ।