नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गिरीबन्धुको कुरा उठाएपछि तीन वटै नेता बालुवाटारमा बैठक बसेको दाबी गरेका छन् ।
उनले एमाले अध्यक्ष केपी ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत नेता बसेर बालेनलाई कसरी तह लगाउने भनेर छलफल गरेको दाबी गरेका हुन् ।
जनकपुरमा आयोजित स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘भ्रष्टाचार बढेको बढ्यै छ । कहीँ कतै पनि भ्रष्टाचारमा कमी आएको म देख्दिनँ । दुर्भाग्य भन्नुपर्छ, कहीँ कतै कुनै शीर्ष नेतालाई कुनै ठाउँबाट, अस्ति बालेनजीले गिरीबन्धुको कुरा निकालिदिनुभयो । त्यसको भोलिपल्टै तीन वटै नेता बालुवाटारमा बस्नुभयो, बालेनलाई कसरी तह लगाउने भनेर ।’
बालेनले एमाले अध्यक्ष ओलीले गिरीबन्धुमा अनियमितता गरेको स्टाटस लेखेका थिए ।
त्यसपछि एमाले र बालेन शाहबीच आन्तरिक द्धन्द चर्किएको छ ।