महोत्तरी- बर्दिबास नगरपालिकाले आर्थिक वर्ष ०८१/८२ का लागि एक अर्ब १२ करोड बढी को बजेट ल्याएको छ।
बर्दिबास नगरपालिकाको १४ औँ नगर सभामा उपप्रमुख तारादेवी महतोले एक अर्ब १२ करोड ९५ लाख को अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।
यो बजेट आव ०८०/८१ को तुलनामा ६.८७ प्रतिशत अर्थात् ६ करोड ८७ लाख रुपियाँले बढी हो ।
आन्तरिक आयबाट वार्षिक १३ करोड ६६ लाख प्राप्त हुने अनुमान गरिएको बजेटमा सङ्घीय सरकारबाट ८४ करोड ४८ लाख, प्रदेश सरकारबाट चार करोड २५ लाख आय हुने अनुमानित बजेट नगर उपप्रमुख तारादेवी महतोले प्रस्तुत गरेकी हुन् ।
नगरपालिकाको कूल विनियोजनमा तलब, भत्ता तथा अन्य खर्चका लागि १८ करोड ७५ लाख र कार्यालयको पुँजीगत खर्चतर्फ दुई करोड ७५ लाख रुपियाँ प्रस्ताव गरिएको छ । विषयगत क्षेत्रअनुसारको नीति कार्यान्वयनका लागि विकाश खर्चतर्फ २८ करोड २६ लाख ५९ हजार विनियोजन गरिएको छ ।
स्वास्थ्य बजेट तर्फ कर्मचारी तलब भत्ता, स्वास्थ्य उपकरण र औषधी खरिदका लागि पाँच करोड ५२ लाख बजेट छुट्याइएको छ।
सडक कालोपत्रे तथा स्तरोन्नतिका लागि ६ करोड २० लाख, शिक्षामा दुई करोड ५० लाख तथा युवा खेलकुद विकाशका लागि ४० लाख विनियोजन गरिएको छ ।
पानीको सधै अभाव रहने बर्दिबासमा स्वच्छ खानेपानी आपूर्ति र सरसफाइ तर्फ ८५ लाख, कृषि सिँचाइ र इनार, डीप बोरिङमा ९५ लाख र आन्तरिक पर्यटनमा ३९ लाख विनियोजन गरिएको छ । भवन तथा सहरी विकाशतर्फ एक करोड ५० लाख छुट्टाइएको छ ।
महिला एवम् लक्षित वर्गको सशक्तीकरणका लागि ७२ लाख विनियोजन गरिएको छ । विद्युती करणका लागि ८० लाख र कृषि तथा पशुपालनमा ६५ लाख विनियोजन गरिएको छ ।
वडा स्तरीय योजनाहरू सञ्चालन गर्न एक मुष्ट १२ करोड ४७ लाख विनियोजन गरिएको छ ।
महिला हिंसाका लागि सधैँ चर्चामा रहने बर्दिबासको यो बजेटमा हिंसापीडित महिलाका लागि भने सम्बोधन गरिएको छैन ।
त्यस्तै, बर्दिबासको समस्या बनेको लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि नीति तथा कार्यक्रममा समेटिए पनि यो शीर्षकमा समेत बजेट छुट्टाइएको छैन । गत वर्ष लागुऔषध दुर्व्यसन रोकथाम र सचेतीकरणका लागि पाँच लाख छुट्याइएको थियो ।
बजेट प्रस्तुत गर्दै उपप्रमुख तारादेवी महतोले भनिन्, ‘‘वार्षिक योजना तथा बजेट र कार्यक्रम निर्माण गर्न जति सजिलो हुन्छ । कार्यान्वयन पक्ष उत्तिकै जटिल भएकाले प्रस्तुत बजेटलाई सफल, परिणाममुखी बनाउन सबैको साथ, सहयोग र शुभेच्छाका लागि आग्रह गर्दछु ।’’