मो.इसराफिल राइन,मटिहानी(महोत्तरी) – मटिहानी नगरपालिकामा “स्वस्थ समुदायको निर्माण : महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान” नाराका साथ २२ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ।

यस अवसरमा मटिहानी नगर कार्यपालिकाको धिरापुरस्थित कार्यालयमा आयोजित कार्यक्रममा नगरपालिका क्षेत्रका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा फील्डमा खटिने स्वास्थ्यकर्मीहरूलाई झोला (Bag) वितरण गरिएको छ। झोला वितरण नगर प्रमुख हरि प्रसाद मण्डलले गर्नुभएको हो।




कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मण्डलले आ.व. २०८१/८२ को स्वास्थ्य वार्षिक समीक्षा अनुसार मटिहानी नगरपालिका महोत्तरी जिल्लामा दोस्रो स्थानमा पर्न सफल भएको उल्लेख गर्दै स्वास्थ्य शाखा, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका अझ प्रभावकारी बनाउन उनीहरूले प्राप्त गर्दै आएको यातायात खर्चमा आगामी आर्थिक वर्षदेखि रु. ५०० बृद्धि गरिने पनि घोषणा गर्नुभयो।

नगर प्रमुख मण्डलले “महिला स्वास्थ्य स्वयंसेविकाहरू समुदायका पहिलो स्वास्थ्यदूत हुन्। मातृ–शिशु स्वास्थ्य सुधारदेखि जनचेतनामूलक अभियानमा उनीहरूको योगदान अतुलनीय छ,” उल्लेख गर्दै नगरपालिकाले उनीहरूको श्रम तथा समर्पणलाई निरन्तर सम्मान गर्ने प्रतिबद्धता प्रकट गर्नुभयो।
मटिहानी नगरपालिकाका जनस्वास्थ्य अधिकृत पवन कुमार मण्डलका अनुसार नगरपालिकामा रहेका ३६ वटै महिला स्वास्थ्य स्वयंसेविका तथा फील्डमा खटिने स्वास्थ्यकर्मीहरुलाई एक–एक वटा झोला वितरण गरिएको हो।

नगर प्रमुख हरि प्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, सि.अ.हे.व. अधिकृत नागेश्वर पाण्डेय, विभिन्न शाखा प्रमुख, स्वास्थ्य चौकी प्रमुख, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।












