
विजय कुमार सिंह,ढल्केवर- धनुषाको मिथिला नगरपालिकाले किसानको खेतमा धान रोपेर २१औँ राष्ट्रिय धान दिवस मनाएका छन् । शनिवार धनुषाको नक्टाझिजमा ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ मिथिला नगरपालिकाको कृषि विकास शाखाले राष्ट्रिय धान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमका अतिथि तथा सहभागिहरुले किसानको खेतमा धान रोपिदिएका हुन् ।
स्थानीय बेचन महतोको ५ कठ्ठा खेतमा धान दिवस कार्यक्रमका अतिथि तथा सहभागिहरुले धान रोपिदिएको मिथिला नगरपालिकाका कृषि विकास शाखा प्रमुख संजय कुमार महतोले बताए ।
त्यसअघि रोपाइँ महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मिथिला नगरपालिकाकी उपमेयर सुनिता सिंह बुढाथोकीले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी वर्षको नीति कार्यक्रम तथा बजेट ल्याएको बताइन् । उनले किसानलाई आकाशे पानीको भर पर्नुपर्ने बाध्यतालाई हटाउन सिँचाईको उचित प्रबन्ध मिलाउनेतर्फ नगरपालिकाको ध्यान केन्द्रित रहेको उललेख गरिन् । किसानले अब जलवायु मैत्री उत्पादनमा जोड दिनुपर्ने उनको भनाई थियो ।
मिथिला नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं ९ का वडाध्यक्ष रामबहादुर स्याङ्दनले कृषि प्राविधिकसँग परामर्श गरेर कृषकहरु अगाडी बढे उत्पादन बढाउन सकिने विश्वास व्यक्त गरे । उनले किसानको आवश्यकता र मागलाई सम्बोधन गर्न नगरपालिकाले अधिकतम प्रयास गरिरहेको उल्लेख गरे ।
धान रोपाइँपश्चात कार्यक्रमका सहभागीहरुलाई दही चिउरा र आँप समेत खुवाएका छन् । असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि दही चिउरा खाई असार १५ मनाउँछन् ।
कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाने गरेको मान्यता छ । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने आम विश्वास गरिन्छ ।-अन्नपूर्ण पोस्ट